अष्ट्रेलिया अनुभव: छोराछोरीलाई अष्ट्रेलिया नपठाउनुस्, नेपालमै बिजनेस गर्न प्रोत्साहन गर्नुस्

0
3367

नेपालबाट स्टुडेन्ट भिसामा अष्ट्रेलिया आएका युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक’ शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको ब्रिसबेनमा बसोवास गरिरहनुभएकी एलिजा सत्यालसंगको कुराकानी प्रस्तुत गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ? अष्ट्रेलिया कहिले आउनुभएको हो ?
घर चाहिं ललितपुर हो। दुई वर्ष भयो अष्ट्रेलिया आएको।

नेपालमा कुन लेभलको पढाइ सकेर आउनुभएको हो ? अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ ?
ब्याचलर सकेपछि आएकी हूँ। डिपेनडेन्ट भिसामा हो आएको। यहाँ अहिले ब्युटिसियनको काम गर्दैछु।

काम बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
साथीहरुसंग गेट टुगेदर गर्न रमाइलो लाग्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
एकदमै फरक। जे होस्, यहाँ आएपछि हरेक कामलाई सम्मान गर्न सिकिँदो रहेछ।

काम पाउन कत्तिको गाह्रो भयो ?
श्रीमान यतै हुनुभएकोले काम खोज्न गाह्रो भएन।

अष्ट्रेलियामा बस्दाका सकारात्मक कुराहरु के -के हुन् ?
यो ठाउँमा आएपछि जो व्यक्ति पनि आत्मनिर्भर बन्छ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन् ?
एक्लो भइन्छ। आफ्नो मान्छे कोही हुँदैन। चाहेको समयमा आफ्नो परिवार भेट्न नेपाल जान पाइंदैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
एकदमै ठीक लाग्यो। एकदमै सहयोगी हुनुहुन्छ। लकडाउनको समयमा पनि सहयोग गर्नुभयो।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
मिलेर बसौं। एक-अर्काको सम्मान गरौँ।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
एकदमै धेरै आउँछ। यता आएपछिको पहिलो वर्षमा आमाको मुख हेर्ने दिनमा आमालाई सम्झेर एकदमै धेरै रोएकी थिएँ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
काम भनेको सानो-ठूलो हुँदैन। हरेक कामको सम्मान गर्नुपर्छ। मेहनत गर्नुपर्छ।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
विदेशको सपना मात्र देखेर नआउनुहोला। जे पनि गर्नसक्छु भन्ने सोंच लिएर मात्र आउनुहोला।

अष्ट्रेलिया आउन चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
छोराछोरीलाई विदेश पठाउनेभन्दा पनि राम्रो शिक्षा दिने सोंच राख्नुस्। सकेसम्म अष्ट्रेलिया नपठाउनुहोला। नेपालमै बिजनेस गर्न भन्नुहोला।