अष्ट्रेलियावासी सुशील चालिसेको निर्देशनमा ‘मन दुख्यो’ सार्वजनिक

0
364

कोरोनाका कारण बिश्व नै आक्रान्त भइराखेको बेलामा गायक रोशन धौभडेलको म्युजिक भिडियो “मन दुख्यो” सार्वजनिक भएको छ। वरिष्ठ साहित्यकार तथा गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा गत शुक्रबार जुम मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो। कोरप्रीउ अडियो भिडियो मिलको प्रस्तुति रहेको यो गीतमा अमेरिकावासी गीतकार उज्वल बस्नेतको शब्द रहेको छ। गायक रोशन धौभडेलको स्वरले गीत सुमधुर बनेको छ। गीतमा संगीत पनि गायक धौभडेलको नै रहेको छ।

सरल तर सुन्दर प्रस्तुति रहेको म्युजिक भिडियोमा अष्ट्रेलियावासी सुशील चालिसेको परिकल्पना तथा निर्देशन रहेको छ । चालिसे अष्ट्रेलियामा रहेर नेपाली साहित्य तथा कला क्षेत्रमा क्रियाशील छन्। उनी विशेषगरी मुक्तककार र डकुमेन्ट्री तथा म्युजिक भिडियोका निर्देशकको रुपमा परिचित छन्। चालिसेको निर्देशनमा बनेको “मन दुख्यो” म्युजिक भिडियोको छायाँकन एवम् सम्पादन भने नेपालमै रिक्की कर्माचार्यले गरेका हुन् ।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा गीतकार राजेन्द्र थापाले गायकी राम्रो भन्दै समाधान गर्न मिल्ने थोरै मिक्सिङको समस्यालाई सुधार्न सुझाव दिए । थापाले कलेज पढदाको १७-१८ बर्षको उमेरमा नै २०१६ सालमा आफूभन्दा १५ बर्ष जेठा यादव खरेल संगसंगै गीत रेकर्ड गरेको र आफूभन्दा १०-१५ बर्ष जेठा हरिभक्त, कालीप्रदासदहरु भन्दा संयोग र भाग्यका कारण रेकर्डिङमा जेठा हुन पुगेको स्मरण गरे ।

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार ध्रुब मधुकर्मीले परिकल्पना राम्रो भएकोले धेरै दर्शक तान्न सक्ने भएतापनि गायकलाई शुरुदेखि अन्तसम्म गायकको रुपमा मात्रै नभएर कलाकारको रुपमा पनि देखाइएको भए अझै राम्रो हुने धारणा राखे ।

त्यसैगरी, वरिष्ठ गीतकार सुभासचन्द्र ढुंगेलले आफू गीतकार भएको कारण शब्द कसरी शुरु भएको छ, त्यसमा आफूले ध्यान दिने र यो गीतको शुरुवात ‘मन दुख्यो भित्रभित्रै, आँशु आँखाभरी असारको पानी होइन होइन साउने झरी’ नै मन छुने खालको भएकोले गीतकारमा संभावना देखेको बताए। उनले गायक रोशन धौभडेललाई जस्तो गीत दिंदा पनि न्याय गर्न सक्ने क्षमता राख्ने राम्रो संभावना भएको गायकको रुपमा प्रसंशा समेत गरे। साथै रिक्की कर्माचार्य पनि भक्तपुरको राम्रो सम्भावना बोकेका भिडियोग्राफरको रुपमा भएको बताए ।

ढुंगेलले ३० को दशकमा आफू रेडियो नेपालमा गिती कथा लेख्दा अहिलेसम्म पनि चर्चामा रहेका राजेन्द्र थापाकै धेरै गीतहरु प्रयोग गरेको स्मरण गर्दै उहाँको क्षमतालाई भक्तपुरले भरपुर सदुपयोग गर्न नसकेका कारण भक्तपुर सांगितिक समाजले त्यसो गर्ने अवसर नचुकाओस भन्ने सुझाब दिए ।

लुम्बिनी-कपिलवस्तु विश्वअभियानका विश्वसंयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाजका विश्व सल्लाहकार रामकुमार श्रेष्ठले आधुनिक प्रबिधिको सहारा लिएर लकडाउनको यो समयमा तीन फरक देशमा बसिरहेका गीतकार, गायक र निर्देशकले जे जसरी यो सांगितिक भिडियो ल्याए यो प्रसंशनिय काम भन्दै यसले अरु थप यस्तै र योभन्दा राम्रो काम गर्न उत्प्रेरित र अभिप्रेरित गरोस भनी शुभकामना दिए ।

कार्यक्रममा बोल्दै लोकप्रिय ब्याण्ड कन्दराका गायक बिवेक श्रेष्ठले ६० को दशकको पूरानो गीतलाई सुहाँदो बाजाहरुको प्रयोग मार्फत न्याय दिएको र पूरानो गीत ल्याएर प्रसंशनिय काम गरेको बताउँदै रोशन धौभडेल राम्रो संभावना बोकेका गायक भनी प्रसंशा गरे । त्यसैगरी, एनआरएनए ग्लोबलका क्यानडा निवासी अभिमन्यु बस्नेतले आवश्यक पर्दा सांगितिक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए । मोर्डन बोर्डिङ एबं कलेजका प्रिन्सिपल अनिल कस्पालले यस्तो जटिल समयमा गरिएको काम प्रसंशनिय भएको बताए ।

कार्यक्रममा बोल्दै भक्तपुर सांगितिक समाजका सचिब अलबर्ट बज्राचार्यले राजेन्द्र थापामा भएको अथाहा ज्ञान र सीपको भक्तपुरबासीले फायदा लिन नसकेकोमा चिन्ता ब्यक्त गरे । त्यसैगरी, भक्तपुर साङ्गितिक समाजका अध्यक्ष तथा गायक प्रबिण शाहीद्धारा सन्चालित कार्यक्रममा सुशील चालिसेद्धारा स्वागत मन्तब्यका साथै म्युजिक भिडियोको बारेमा जानकारी गराएका थिए । जुम कार्यक्रमको लागि चैतन्य इन्टरनेशनल एकेडेमीले सहयोग गरेको थियो ।