अष्ट्रेलियाबाट एक्स्पर्टले नेपाल पठायो ५० अक्सिजन कन्सन्ट्रेटर

0
80

मेलबर्न। कोरोना महामारीको चपेटामा परेको नेपाललाई अष्ट्रेलियामा रहेका नेपाली संघसंस्था तथा व्यक्तिहरुले विभिन्न माध्यमद्वारा सहयोग गरिरहेका छन्। यसैक्रममा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज अन्तर्गतको एक्स्पर्ट फाउन्डेसनले नेपालमा अक्सिजन कन्सन्ट्रेटर पठाएको छ। अष्ट्रेलियामा पढ्न तथा बसाईसराई गर्न चाहनेहरुका लागि सेवा दिंदै आएको एक्स्पर्टले ५० वटा अक्सिजन कन्सन्ट्रेटर (करिब साठी लाख रुपैयाँ बराबर) नेपाल पठाएको हो।

एक्सर्पट एजुकेशनका प्रबन्ध निर्देशक बद्रि अर्यालले यो महामारीको समयमा नेपालमा अक्सिजनको अभावमा कैयौंले ज्यान गुमाउनु परेको समाचारहरु पढ्नुपर्दा दु:ख लागेको उल्लेख गर्दै अझै पनि त्यो अवस्था टरिनसकेकोले अक्सिजन कन्सन्ट्रेटर पठाएको बताएका छन्।

उनले मातृभूमीप्रतिको कर्तव्य बोध गर्दै एक्स्पर्टले यसअघि पनि अप्ठ्यारो परिस्थितिमा सहयोगको हात अगाडी बढाएको जानकारी गराउँदै वर्तमान अवस्थामा पनि अक्सिजन कन्सन्ट्रेटरद्वारा बिरामीहरुको ज्यान बचाउन मद्दत पुग्नेछ भन्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन्।

नेपाल पठाएको कुल ५० वटा अक्सिजन कन्सन्ट्रेटरमध्ये ४५ वटा नेपाल सरकार स्वास्थ्य मन्त्रालयमार्फत वितरण र प्रयोग गर्ने तथा पाँच वटा कन्सन्ट्रेटर सामाजिक संघसंस्थालाई प्रदान गरिएको एक्स्पर्ट फाउन्डेसनले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।