अष्ट्रेलियाको न्यू साउथ वेल्सद्वारा जुलाईदेखि अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने तयारी

0
441

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले कोरोना महामारी नियन्त्रणका लागि बन्द गरिएको बोर्डरका कारण अष्ट्रेलिया आउन नपाएका विद्यार्थीलाई छिट्टै ल्याउने योजना सार्वजनिक गरेको छ। न्यु साउथ वेल्सले आगामी जुलाई महिनादेखि विद्यार्थी भित्र्याउने बताएको हो।

आज न्यू साउथ वेल्सका ट्रेजरर डोमिनिक पेरोटीले सार्वजनिक गरेको योजना अनुसार, पाइलट प्रोजेक्टको रुपमा विद्यार्थीहरुलाई भित्र्याउन शुरु गरिनेछ। सुरुवातमा १५ दिनमा २५० अन्तर्राष्ट्रिय विद्यार्थी न्यू साउथ वेल्स भित्रिनेछन्। अर्थात् हरेक महिना ५ सय जना विद्यार्थी अन्य देशबाट न्यू साउथ वेल्स आउन पाउनेछन्। यसरी आएका विद्यार्थीहरु तोकिएको होटल क्वारेन्टिनमा बस्नुपर्नेछ र त्यसमा लाग्ने खर्च युनिभर्सिटी, कलेज या विद्यार्थी आफैले तिर्नुपर्नेछ।

यो पाइलट प्रोजेक्ट न्यू साउथ वेल्सको स्वास्थ्य विभाग र प्रहरीबाट अनुमोदन भइसकेको छ र संघीय सरकारबाट अनुमोदनका लागि प्रक्रिया शुरु गरिएको छ। ट्रेजरर पेरोटीले संघीय सरकारबाट अनुमोदन हुने विश्वास व्यक्त गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीको आगमनले हस्पिटालिटी र रिटेल क्षेत्र लगायत समग्र अर्थतन्त्रमा सघाउ पुग्ने बताएका छन्।