खेलमा मात्र सिमित नभई मेलबर्नका क्लबहरुबीच छुट्टै पहिचान बनाउँदै रोयल वेस्टर्न क्लब

0
972

अष्ट्रेलियामा नेपाली समुदायका थुप्रै क्लबहरु स्थापित छन्। ती क्लबहरु मध्येको एक रोयल वेस्टर्न क्लबले मेलबर्नको नेपाली समुदायमाझ आफ्नो फराकिलो पहिचान स्थापित गर्न सफल भएको छ। रोयल वेस्टर्न क्लब मेलबर्नको पश्चिमी क्षेत्रमा क्रियाशील क्लब हो।

पढाइको सिलसिलामा नेपालबाट अष्ट्रेलियाको पश्चिम मेलबर्नमा पुगेका नेपाली युवाहरुले रोयल वेस्टर्न क्लबको स्थापना गरेका थिए। फुटबल खेलप्रतिको रुचीकै कारणले टिम बनाई हरेक सदस्यबाट १ सय डलर जम्मा गरेर क्लबको सुरुवात गरेको बताउँछन्, क्लबका संस्थापक अध्यक्ष विजय खड्का। नेपालमा रहँदादेखि नै फुटबल खेल खेल्ने गरेका सात जना युवा मिलेर ‘टुगेदर वि क्यान’ भन्ने नारा सहित क्लबको जग बसालेका थिए। क्लबमा अध्यक्ष खड्का संगै पवन न्यौपाने, राजेश श्रेष्ठ, दीपेन्द्र खड्का, सोमराज बिमली, अशेष कुमार सिंह, प्रतिक केसी रहेका थिए।

टिमका सातै जना सदस्य करियर निर्माणका लागि संघर्ष गर्दै थिए। तर आफ्नो रुचीलाई निरन्तरता दिन चाहेका उनीहरुले तनाव व्यवस्थापन पनि हुने, एक आपसमा चिनजान पनि हुने र बलियो टिम निर्माण गर्न सकिने सम्भावनालाई मध्यनजर गर्दै २०१५ सेप्टेम्बरमा क्लबको शुरुवात गरे। अष्ट्रेलियाको व्यस्त र तनावपूर्ण जीवनशैली बीच हप्तामा एक दिन खेलको लागि समय दिने उनीहरुले नयाँ विद्यार्थीहरुलाई खेल सिकाउन थाले। उनीहरुको मेहनतले रंग ल्यायो। फलस्वरुप: स्थापनाको वर्ष अर्थात २०१५ मा नै एमआईटि कप टुर्नामेन्टमा क्लबले प्रतियोगीको रुपमा भाग लियो।

त्यसयता क्लबले अष्ट्रेलियाको विभिन्न राज्यमा सप्पन्न दर्जनौं टुर्नामेण्टमा लगातार सहभागिता जनाउँदै आएको छ। सहभागी टुर्नामेन्ट मध्ये २०१९ मा भिक्टोरियामा सम्पन्न भिक्टोरिया सकर डिभिजन १ लिग टुर्नामेण्टमा रोयल वेस्टर्न क्लब विजयी भएको थियो। नेपाली समुदायका मात्र नभई अन्य समुदायका क्लब पनि सहभागी उक्त प्रतियोगितामा रोयल वेस्टर्न क्लब विजयी बन्नुले क्लबका खेलाडी तथा प्रशिक्षकको क्षमता र मेहनतलाई दर्शाउँछ। त्यसयता २०२० मा गोर्खा नेपलीज कम्युनिटी भिक्टोरिया लिगले आयोजना गरेको ३५ वर्ष उमेर समूहको टुर्नामेन्टमा पनि रोयल वेस्टर्न विजयी बनेको थियो भने न्याभ मल्टिकल्चरल टुर्नामेन्टमा रनर-अप बन्न सफल भएको थियो।

क्लबका खेलाडी तथा सदस्यहरुको मेहनत र लगनशीलताले नेपाली समुदायलाई रोयल वेस्टर्नप्रति आकर्षित गर्यो। जसले गर्दा नेपाली समुदायका अगुवाहरुले क्लबप्रति चासो देखाउन थाले। सामाजिक अगुवाहरुबाट मिलेको साथका कारण क्लबमा थप हौसला मिल्दै गयो र क्लबका सदस्यहरुले समुदाय स्तरमा क्लबलाई लैजाने गरी स्थापित व्यक्तित्व तथा अगुवाहरु समक्ष प्रस्ताव राखे। फलस्वरुप क्लबले नयाँ रुप लियो। क्लबमा अहिले केवल खेलाडी तथा युवाहरु मात्र छैनन्, व्यवस्थापन टिम र सल्लाहकारहरु पनि रहेका छन्।

क्लबको वर्तमान अध्यक्षमा बम योञ्जन रहेका छन्। त्यसैगरी उपाध्यक्षमा रोशन दाहाल, सचिवमा सुशील चालिसे, सह-सचिवमा उज्ज्वल अधिकारी, कोषाध्यक्षमा सशेंद्र केसी तथा सदस्यहरुमा सुवास पाण्डे, विजय खड्का, गान्धी प्रसाद भट्टराई, सुसन खतिवडा, हरि पण्डित, शंकर थापा, बिनिता कटवाल, राजु श्रेष्ठ, सरोज कोइराला, सुमन बस्नेत, कौशिक बस्नेत र दीपेन्द्र खड्का रहेका छन्। दीपेन्द्र खड्का टिम म्यानेजर समेत हुन्। त्यसैगरी क्लबको सल्लाहकारमा जोग लिम्बु, सुनिल भण्डारी र रोशनी श्रेष्ठ रहेका छन्।

क्लबको व्यवस्थापक टिम

अध्यक्ष बम योञ्जनले रोयल वेस्टर्न क्लबलाई आर्थिक रुपमा बलियो बनाउंदै नेपाली समुदायलाई विशेष योगदान दिने प्रतिबद्धता जनाएका छन्। उनले नेपाली युवाहरुलाई खेलतर्फ आकर्षित गर्न र खेलाडीको हितका लागि क्लब सधै क्रियाशील हुने जनाएका छन्। त्यसैगरी, क्लबका सचिव सुशील चालिसेले क्लबलाई खेलमा मात्र सिमित नराखी समुदायमा यसको दायरा फराकिलो बनाउनका लागि व्यवस्थापन टिम लागिपरेको बताएका छन्।

व्यवस्थापकीय हिसाबले बलियो बनेपछि क्लबले विभिन्न कार्यक्रमहरु अगाडी बढाएको छ। कोरोना महामारीभन्दा पहिले क्लबले हरेक महिनामा एउटा औपचारिक मिटिंग राख्दै आएको थियो भने खेलाडी मात्र नभई व्यवस्थापक टिम र इच्छुक सबैलाई हरेक आइतबार ९ बजे रयाम्बो अधिकारीले फिटनेस ट्रेनिंग दिंदै आएका थिए। र आगामी दिनमा पनि यसले निरन्तरता पाउनेछ।

कोरोना महामारीको समयमा पनि खेलाडीका लागि अनलाइन प्रशिक्षण राखिएको छ। क्लबका मुख्य प्रशिक्षक तथा नेपालको राष्ट्रिय खेलाडीको रुपमा खेल खेलिसकेका जगजित श्रेष्ठले अनलाइन मार्फत प्रशिक्षण दिंदै आएका छन्। त्यस्तै, नियमित मिटिंगलाई अनलाइन मार्फत निरन्तरता दिइदै आएको छ।

क्लबले खेलाडीहरुलाई हौसला प्रदान गर्नका लागि खेलाडी समस्यामा परेको समयमा सहयोग गर्दै आएको छ। त्यस्तै, उनीहरुको आत्मविश्वास बढाउनका लागि प्राथमिक उपचार प्रदान गर्न थालेको छ। यति मात्र नभई, समुदायका युवा र पुरुष मात्र नभई समग्र समुदायलाई समेट्नका लागि बालबालिकाको लागि फुटबल प्रशिक्षण र महिला टिमको सुरुवात गर्ने योजना बनाइएको छ। त्यसैगरी, क्लबले प्रशिक्षण नि:शुल्क दिने र एकरुपता तथा सद्भावको भावना जोगाइराख्नका लागि युनिफर्मको पनि व्यवस्था गर्ने योजना रहेको सचिव सुशील चालिसे बताउँछन्।

खेलाडीलाई सहयोग हस्तान्तरण

अर्कोतिर व्यवस्थापकीय रुपले क्लबलाई चुस्त राख्नका लागि प्रविधिदेखि लिएर सबैजसो व्यवस्थापकीय पक्षमा अपडेट रहन शुरु गरिएको छ। क्लबका कार्यक्रमहरु व्यवस्थित र प्रभावकारी बनाउन भूमिका खेल्ने स्वयंसेवकहरुका लागि प्रशिक्षण, डिस्काउन्ट कुपन जस्ता सुविधा दिने क्लबले योजना बनाएको छ।

त्यस्तै, क्लबलाई आर्थिक रुपमा सहयोग गर्ने प्रायोजक संस्थाहरुका लागि क्लबले सम्मान कार्यक्रम राखेको थियो भने आगामी दिनमा पनि त्यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनेछ। एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मेलबर्न, प्लाटिनम डेभ्लपर्स, बेटर चोइस मोर्गेज एण्ड फाइनान्स, हंग्री आई एसियन फ्युजन एण्ड बार, सेन्ट्रल अष्ट्रेलियन कलेज, फ्युजन इञ्जिनियरिङ्ग सर्भिसेज र थ्रीआरजे बजार रोयल वेस्टर्न क्लबले आयोजना गर्दै आएका हरेक कार्यक्रमका नियमित प्रायोजक संस्थाहरु हुन्।

प्रायोजक संस्थालाई सम्मान गर्दै

रोयल वेस्टर्न क्लब सामाजिक काममा पनि उत्तिकै सक्रिय भएर लागिरहेको छ। कोरोना महामारीको समयमा यस क्लबले गुल्मी समाज भिक्टोरिया, एनआरएनए अष्ट्रेलिया, दिदीबहिनी समाज, मेल्बर्न नेपलीज कम्युनिटी वेस्ट लगायत संस्थाहरुसंग सहकार्य गर्दै राहत वितरण गरेको थियो। त्यस्तै, रक्तदान कार्यक्रम यस क्लबको सिग्नेचर कार्यक्रम जस्तै बनिसकेको छ।

क्लबको नियमित रक्तदान कार्यक्रममा मेल्बर्नमा बसोबास गर्दै आएका नेपाली समुदाय, क्लबका खेलाडी तथा अन्य सदस्यहरुले रक्तदान गर्दै आएका छन्। जसबाट हालसम्म १४४ जनाको ज्यान बचाउन मद्दत पुगेको छ । अष्ट्रेलियन रेडक्रस लाइफब्लड सर्भिसेससंगको सहकार्यमा गरिएको रक्तदानबाट रेडक्रस प्रभावित भई क्लबलाई रक्तदानका लागि २ महिनाको च्यालेन्ज प्रोग्राममा पनि समेटिएको र त्यसबाट ३० जनाको ज्यान बचाउन सफल भएको अष्ट्रेलियन रेडक्रस लाइफब्लड सर्भिसेसको वेबसाईटमा प्रकाशित छ ।

अष्ट्रेलियन रेडक्रस लाइफब्लड सर्भिसद्वारा नोटिस बोर्डमा प्रकाशित रोयल वेस्टर्नको रक्तदान कार्यक्रमको तस्बिर

यी सामाजिक कामसंगै थप कार्यक्रमहरुलाई पनि अगाडी बढाउने रोयल वेस्टर्न क्लबको अबको लक्ष्य रहेको छ। क्लबका प्राविधिकहरुका लागि प्रशिक्षण दिलाउन क्लबले भिक्टोरियाको स्पोर्ट्स काउन्सिलसंग लबिङ्ग गरिरहेको छ। त्यसैगरी क्लबले समुदायका लागि विभिन्न खेल गतिविधि संचालन गर्नेछ भने निरन्तर विभिन्न प्रतियोगिताहरु पनि आयोजना हुनेछन्।

नयाँ वर्ष धमाका कार्यक्रमको अवसरमा लिइएको तस्बिर

क्लबका कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि क्लबले टास्कफोर्स बनाउदै विभिन्न जिम्मेवारीका साथ टिमको तयारी गरेको छ। कम्युनिटी वेलफेयर, वुमेन इम्पावरमेन्ट, भल्युण्टर सपोर्ट, किड्स फूटबल म्यानेजमेन्ट टिम लगायत टास्कफोर्सको जिम्मेवारी बाँडफांडले क्लब खेल क्षेत्रमा अझ प्रभावकारी रुपमा अगाडी बढ्न सक्ने र नेपाली समुदायको हितका निम्ति समर्पित हुन सक्ने विश्वास रहेको व्यवस्थापन पक्ष बताउँछ।