युवा चाहना तथा व्यवसायिक र सामाजिक पाटोलाई एकसाथ लिएर अगाडी बढ्दै यात्री

0
441

अष्ट्रेलियाको मेलबर्नमा नेपाली युवाहरुको समूहद्वारा यात्री हाउस अफ इभेन्ट्स कम्पनी संचालनमा आएको छ। नेपाली कला, संस्कृति, खेलकुद, सामाजिक कार्य लगायत विभिन्न आयामलाई समेट्दै अगाडी बढ्ने उद्देश्यले ल्याइएको भनिएको यो ‘यात्री’ इभेन्ट्सले कसरी आफ्नो उद्देश्य प्राप्तिका लागि यात्रा अगाडी बढाएको छ, आगामी योजना कस्ता रहेका छन् भन्ने बारेमा आज हामीले यात्री इभेन्ट्स कम्पनीका प्रमुख कार्यकारी निर्देशक (सीईओ) प्रकाश काजी थापासंग गरिएको संक्षिप्त कुराकानी प्रस्तुत गरेका छौं।

यात्रीले कहिलेदेखि आफ्नो यात्रा शुरु गर्यो ? यसको गन्तव्य कहाँ हो ?
गत २०२१ फेब्रुअरी २३ बाट मेलबर्नमा शुरु गरेका हौँ। यसमा व्यवसायिक र सिर्जनशील काममा लाग्न चाहने र केही नयाँ सोंचका साथ अगाडी बढौं भन्ने युवा समूह छ। हामीले त्यहि नै हो हाम्रो गन्तव्य भनेर छुट्टाएका छैनौं। विभिन्न क्षेत्रलाई, विभिन्न परिस्थितिलाई समेट्दै अगाडी बढीरहन चाहन्छौं। त्यही विचारले नै हामीले कम्पनीको नाम ‘यात्री’ भनेर रोजेका हौँ।

यात्रीले आयोजना गरेको नयाँ वर्ष विशेष कार्यक्रममा झुम्दै सहभागीहरु

कोरोना महामारीको यो समयमा इभेन्टहरु ठप्प जस्तै छन्। इभेन्ट कम्पनीहरुले सर्भाइभ हुन मुस्किल भयो भनिरहेको अवस्था छ। हजुरहरुले भने यही समयमा यात्रा शुरु गर्नुभयो नि !
हामीले ‘यात्री’लाई नाफामूलक कम्पनीको तरिकाले हेरेका छैनौं। सामान्यतया: इभेन्ट कम्पनी भनेको नेपालबाट कलाकारहरु ल्याएर कार्यक्रम गर्ने भन्ने बुझिन्छ। तर हामीले यसलाई व्यापक तरिकाले लैजान चाहन्छौं। मनोरन्जन पनि समेटिन्छ, तर त्यस संगसंगै खेलकुद, करियर विकास र व्यक्तित्व विकासका लागि सहयोगी कार्यक्रम, चेतनामूलक कार्यक्रम, सहयोग अभियान, बहु-सांस्कृतिक कार्यक्रम लगायतका सबै क्षेत्र, सबै उमेर समूहलाई समेट्ने किसिमका कार्यक्रमहरु उत्तिकै प्राथमिकतामा रहनेछन्। हामीले केही समय अगाडी मात्र एएनपीएलसंग मिलेर मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रम गर्यौं, त्योभन्दा अगाडी नयाँ वर्ष विशेष कार्यक्रम गर्यौं र त्यस बापत उठेको रकम एक जना बिरामी भाइको सहयोगका लागि हस्तान्तरण गर्यौं। र, नेपालमा कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री सहयोग गर्ने एनआरएनए अष्ट्रेलियाको अभियानमा यात्रीले पनि आफ्नो मातृभूमीप्रतिको कर्तव्य बोध गर्दै एउटा अक्सिजन कन्सनट्रेटर किन्नका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

विभिन्न इभेन्ट कम्पनी, संघ-संस्थाहरुले विभिन्न तवरले यी कार्यक्रम गरिरहेको देखिन्छ। ‘यात्री चाहिं के कारणले अरुभन्दा फरक छ त ?
हामीले यहीं रहनुभएका नेपाली युवाहरु जो कला क्षेत्रमा, साहित्य क्षेत्रमा, खेलकुद क्षेत्रमा लागिरहनुभएको छ, उहाँहरुलाई प्राथमिकता दिनेछौं। नि:शुल्क होइन कि, उहाँहरुको मेहनत तथा सिर्जनाको कदर गर्दै उचित पारिश्रमिक दिएर हामीले एउटा प्लाटफर्म प्रदान गर्नेछौं। यसले गर्दा उहाँहरुलाई आफ्नो रुचीलाई निरन्तरता दिन, आफ्नो क्षमतामा निखार ल्याउन सहयोग पुग्नेछ र संगसंगै माथिल्लो लेभलमा पुग्नका लागि पनि हौसला मिल्नेछ भन्ने हाम्रो विश्वास छ। अर्कोतर्फ इभेन्ट कम्पनीको काम र सामाजिक कामलाई हामीले संगसंगै लैजानेछौं। इभेन्ट गर्नका लागि मात्र होइन कि, यात्रीले कुनै उद्देश्यका लागि कार्यक्रमहरु गर्नेछ।

यात्रीको यस्तो अवधारणा चाहिं कसरी जन्मियो ?
यो मेरो आफ्नो पृष्ठभूमीसंग जोडिएको कुरा पनि हो। म २००८ मा अष्ट्रेलिया आएको हूँ। त्यही वर्ष नै म यति फुटबल क्लबसंग आबद्ध भएँ। जसले गर्दा खेलमा मात्र नभई सामाजिक कार्यमा समेत सक्रिय हुने अवसर मिल्यो। त्यसैगरी नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको अघिल्लो कार्यकालमा कोषाध्यक्ष पदमा रही काम गरें। र, एनआरएनए अष्ट्रेलिया अन्तर्गतको स्पोर्ट्स काउन्सिलमा सचिव पदमा रहेर काम गरिरहेको छु। खेलकुद लगायत सामाजिक काममा क्रियाशील हुने तथा समाजलाई पनि योगदान पुग्ने केही काम गर्नुपर्छ भन्ने सोंच राख्ने कारणले नै यात्राको अवधारणा जन्मिएको हो। म संस्थापक तथा सीइओ रहेको यात्रीमा बिपिन भट्टराई, कृतिक अधिकारी, कमल अर्याल र विराज थापा पनि संस्थापकको रुपमा हुनुहुन्छ। साथै बिपिनजी टिम संयोजक हुनुहुन्छ भने कृतिकजी आइटि म्यानेजर हुनुहुन्छ। त्यसैगरी फाइनान्स डिपार्टमेन्ट कमलजीले र इभेन्ट संयोजन विराजजीले सम्हालिरहनुभएको छ।

यात्रीले एएनपीएलसंगको सहकार्यमा आयोजना गरेको मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रम

हिमालयन कंगारूले विद्यार्थीहरुसंग गरेको इभेन्ट टकमा एउटै किसिमका कार्यक्रम भए, उनै कलाकारहरु दोहोरिए भन्ने गुनासा आउँछन्, यसमा हजुरको धारणा के छ ?
नेपाली समुदाय सानो छ, यसमा थुप्रै इभेन्ट कम्पनीहरु छौं। यसले गर्दा उस्तै किसिमका कार्यक्रम र उनै कलाकारहरु दोहिरिन सक्छन्। यही कुरालाई मध्येनजर गर्दै यात्रीले थिम अनुसार कार्यक्रमहरु गर्ने योजना बनाएको छ। फरक-फरक थिमका साथमा फरक-फरक क्षेत्रलाई समेट्दै कार्यक्रम गरेर सहभागीहरुको समय र पैसाको सही सदुपयोग होस् भन्नेमा हामी प्रतिबद्ध छौं।

नेपाली समुदाय सानो छ, इभेन्ट कम्पनी धेरै छन् भन्नुभयो, कत्तिको प्रतिस्पर्धा महसुस गर्नुभएको छ ?
प्रतिस्पर्धा त छ। सानो बजार छ। प्रायोजन गर्ने संस्थाहरु पनि करिब-करिब एकै पर्नुहुन्छ। अझ अहिलेको कोरोना महामारीले गर्दा उहाँहरुमा पनि आर्थिक समस्या छ। तर हामीले सिर्जनशील भएर, समुदायलाई पनि हित हुने किसिमले स्वस्थ प्रतिस्पर्धालाई ध्यानमा राख्नुपर्छ।

यात्रीको सहयोग प्रतिबद्धतामा एनआरएन अष्ट्रेलियाद्वारा धन्यवाद व्यक्त

इभेन्टको माध्यमबाट कसरी समुदायको हित हुन सक्छ ?
यात्रीको सन्दर्भमा मैले अगाडी नै भनिसकें, विभिन्न सामाजिक कार्य गरिरहेका छौं। यसलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनका लागि ‘यात्री ट्रस्ट’ शुरु गर्ने सोंचमा छौं, जुन यही इभेन्ट कम्पनी अन्तर्गत नै रहन्छ। र, त्यसबाट अष्ट्रेलिया मात्र नभई आवश्यक परेको खण्डमा नेपालमा पनि सहयोग गर्नेछौं। त्यसैगरी हामीले समुदायको सबैजसो पाटोलाई समेट्ने गरी कार्यक्रमहरु गर्नेछौं, जसले गर्दा समुदायको सर्वाङ्गिण विकासमा सहयोग पुग्नेछ भन्ने हामीलाई लाग्छ।

यात्रीका अबका कार्यक्रमहरु के-के रहेका छन् ?
अहिले तत्काल हामीले कर्पोरेट क्षेत्रका व्यक्तिहरुका लागि फुटसल प्रतियोगिता आयोजना गर्दैथियौं। जसले कोरोना महामारीको अवस्थामा उहाँहरुलाई रिफ्रेसमेन्टसंगै नयाँ अनुभव तथा ऊर्जा दिनेछ हाम्रो विश्वास थियो। तर भिक्टोरियामा कोरोना संक्रमण समुदायमा देखिएसंगै हामीले यो कार्यक्रम स्थगित गरेका छौं। आगामी जुलाईमा बर्नफायर म्युजिकल नाइट गर्दैछौं भने अगस्टमा नि:शुल्क तीज कार्यक्रम गर्ने योजनामा छौं। त्यसैगरी सेप्टेम्बरमा युवाहरुलाई काममा सहयोग गर्ने उद्देश्यले म्यानुअल ह्याण्डलिङ्ग फ्री कोर्स गर्नेछौं। हामीले सिड्नीमा पनि कार्यक्रम गर्ने योजना बनाएका छौं। जसअनुरुप अक्टोबरमा त्यहाँ च्यारिटी कार्यक्रम गरिनेछ। उक्त कार्यक्रम वापत उठेको रकम नेपालको दुर्गम क्षेत्रमा पठाउनेछौं। त्यसपछि नोभेम्बरमा मेलबर्नमै अर्को एउटा इभेन्ट गर्ने सोंचमा छौं।

यात्रीको आगामी इभेन्ट

अन्त्यमा, थप केही भन्न चाहनुहुन्छ कि ?
यात्रीले आफ्नो यात्रा शुरु गरेको छोटो समयमा नै धेरैले साथ र सहयोग दर्शाउनुभएको छ। धेरै माया गरिदिनुभएको छ। हामी यहाँहरु सबैप्रति कृतज्ञ छौं। हामी व्यवसायिक र सामाजिक दुवै पाटोलाई संगै मिलाएर लैजाने, युवाहरुलाई उत्प्रेरित गर्दै उनीहरुको क्षमता पहिचानमा सहयोग गर्ने उद्देश्यका साथ यात्रामा निस्किएका छौं। यो यात्राभर हजुरहरुले हामीले यसरी नै साथ र हौसला दिनुहुनेछ भन्नेमा विश्वस्त छौं। हामीहरु सधै हजुरहरुको साथ, सहयोग र सुझावको अपेक्षामा हुनेछौं।