मेलबर्नमा थप एक साताका लागि लम्बियो लकडाउन

0
116

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा थप एक साताका लागि लकडाउन लम्बिने भएको छ। बुधबारको पत्रकार सम्मेलनमा भिक्टोरियाका कार्यवाहक प्रिमियर जेम्स मार्लिनोले उक्त जानकारी गराएका हुन्।

समुदाय स्तरमा कोरोना संक्रमित देखिएपछि यसअघि भिक्टोरिया राज्य सरकारले गत बिहीबारदेखि एक साताका लागि लकडाउन लागु गरेको थियो। लकडाउनको एक साता बित्दै गर्दा समुदाय स्तरमा संक्रमितको संख्या बढिरहेको र जोखिमयुक्त ठाउँहरुको संख्या पनि बढिरहेका कारणले भिक्टोरिया राज्य सरकारले थप एक साता लकडाउन कायम राख्ने निर्णय गरेको हो। लकडाउन आगामी जुन १० को राती ११:५९ सम्म लागु हुनेछ।

थपिएको यो लकडाउन रिजनल भिक्टोरियाका लागि लागु नहुने बताइएको छ भने मेलबर्नवासीका लागि पनि केही प्रतिबन्धमा परिवर्तन हुनेछन्। सपिङ्ग र शारीरिक व्यायामका लागि १० किलोमीटरसम्मको दूरी राखिने भएको छ। कक्षा ११ र १२ का विद्यार्थीहरुले प्रत्यक्ष कक्षा लिन पाउनेछन्। मेलबर्नवासीहरु सप्ताहान्तमा रिजनल भिक्टोरिया जान पाउने छैनन्।