अष्ट्रेलियाको मेलबर्नमा भोली मंगलबार हुँदैछ ‘रमाइलो साँझ’

0
233

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा भोली अर्थात् मे २५ मा रमाइलो साँझको आयोजना हुनेछ। नेपालमा चितवन घर भई हाल अष्ट्रेलियामा बसोवास गर्दै आएका नेपालीहरुको संस्था चितवन समाज भिक्टोरियाले कार्यक्रमको आयोजना गरेको हो।

रमाइलो साँझ नि:शुल्क कार्यक्रम हो। तर इच्छुक सहभागीहरु तथा संस्थाका सदस्यहरुबाट संकलित रकम नेपाल पठाइने संस्थाले जानकारी गराएको छ। नेपालमा कोरोना महामारी चलिरहेको समयमा यो पूर्वनिर्धारित कार्यक्रमलाई निरन्तरता दिई नेपालका लागि सहयोग जुटाउने माध्यमको रुपमा समेत लिइएको संस्थाले जनाएको छ। यसअघि संस्थाले एनआरएनए अष्ट्रेलियाले चलाएको सहयोग अभियानमा १२०० डलर बराबरको एक अक्सिजन कन्सन्ट्रेटर दिने प्रतिबद्धता गरिसकेको छ।

रमाइलो साँझमा भ्वाइस अफ नेपालको पहिलो सिजनका रनरअप कुशल आचार्यको साथमा स्थानिय कलाकारहरु दिकपाल देव पङ्गेनी, प्रवीण योन्जन, रफिक महर्जन लगायत कलाकारहरुको प्रस्तुति रहनेछ। साथै डिजे सत्र पनि रहने आयोजक संस्थाले जनाएको छ । चाण्ड्लरको मूख्य प्रायोजन रहेको कार्यक्रमलाई सल्भ एजुकेशनले सह-प्रायोजन गरेको छ।