‘अष्ट्रेलिया गएकालाई के भन्नु, देशको परिस्थिति हेर्दा आफैलाई नेपाल छोडेर कहिले हिडौं भन्ने हुन्छ’

0
1278

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि ‘केक टु नेपाल’ एउटा भरपर्दो तथा सजिलो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनुभएका आफन्तलाई कस्तो महसुस हुन्छ ? अष्ट्रेलिया र त्यहाँ भएका आफन्तबारे उहाँको कस्तो धारणा छ ? आदि बारेमा केक टु नेपालसंगको सहकार्यमा हिमालयन कंगारुले आफन्तसंग कुराकानी गर्दै ‘नेपालबाट संदेश’ स्तम्भ सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौंको बानियाँटार बसोवास गर्दै आउनुभएकी सिर्जना खड्काजीसंगको कुराकानी प्रस्तुत गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
मेरो दाईले पठाउनुभएको हो। एकदमै खुसी लाग्यो यसरी उपहार पाउँदा।

तपाईंको दाई अष्ट्रेलियामा कहाँ बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
सिड्नीमा बस्नुहुन्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
राम्रो लाग्छ। ७/८ वर्ष भइसक्यो जानुभएको। दाई खुसी हुनुहुन्छ। त्यो नै ठूलो कुरा हो।

चाडपर्वमा उहाँको कत्तिको सम्झना आउँछ ?
त्यो त कुरै नगरौं, एकदमै मिस हुन्छ नि।

दाई नेपाल फर्किनुभए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल हुनुभए हुन्थ्यो जस्तो लाग्छ ?
दाई फर्किए हुन्थ्यो नै भन्ने त लाग्दैन। तर नेपालमै बसेपनि या उतै अष्ट्रेलियामै बसेपनि सबै परिवार एकैसाथ बस्न पाए हुन्थ्यो भन्ने लाग्छ।

तपाईं अष्ट्रेलिया जानुभएको छ ?
गएकी छैन। मास्टर्स लेभल पढ्दैछु। पढाइ सकेर जाने सोंचमा छु।

केका लागि अष्ट्रेलिया जान चाहनुहुन्छ ?
अहिले त घुम्नका लागि मात्र जाने सोंच छ। अब त्यहाँ गएपछि आफ्नो विचार के हुन्छ, परिस्थिति कस्तो हुन्छ, त्यसमा भरपर्छ।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
यस्तो हो, मान्छेको आफ्नो-आफ्नो सोंचाई हुन्छ। देशको अहिलेको अवस्था हेर्दा त मलाई पनि नेपाल छोडेर कहिले हिडौं भन्ने हुन्छ। कति बाध्यतावस पनि गएका छन्। कतिलाई विदेशमा गएपछि पाइने सुविधा, अवसरले आकर्षित गरेको छ र बसेका छन्। कति चाहिं देशमै केही गर्नुपर्छ भनेर फर्केका छन्। मलाई पनि कहिलेकाहीं विदेश जाउँ भन्ने सोंच आउँछ, देशको अवस्था हेर्दा तर फेरी भावनात्मक रुपले सोंच्दा नेपालमै बस्छु भन्ने लाग्छ।

अन्त्यमा, अष्ट्रेलियामा रहनुभएका हजुरका दाईलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो ख्याल राख्नुहोला, राम्रोसंग बस्नुस्। हामीले सधै मिस गरिरहेका छौं।