अष्ट्रेलियामा हस्पिटालिटी र टुरिजम क्षेत्रमा विद्यार्थीहरुले सातामा २० घण्टाभन्दा बढी काम गर्न पाउने

0
604

मेलबर्न। अष्ट्रेलियामा विद्यार्थीलाई सातामा २० घण्टा काम गर्ने अनुमति हुन्छ। तर हस्पिटालिटी र टुरिजम क्षेत्रमा काम गर्ने विद्यार्थीहरुले अब सातामा २० घण्टाभन्दा बढी काम गर्न पाउने भएका छन्। एसबिएस न्युजका अनुसार, आगामी हप्ता हुने बजेट सम्बन्धि घोषणामा सरकारले उक्त कुरा समावेस गर्ने तयारी गरेको हो।

अष्ट्रेलियामा अहिले कोरोना महामारीका कारण बोर्डर बन्द हुँदा हस्पिटालिटी तथा पर्यटन क्षेत्रमा कामदार अभाव हुन थालेको छ। अर्कोतिर अन्तर्राष्ट्रिय विद्यार्थीहरु कोरोना महामारीको चपेटामा परेका छन्। यी दुई समस्याको समाधान स्वरुप यो योजना ल्याइएको अष्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकले बताएका छन्। यो योजना लागु भए पश्चात हस्पिटालिटी तथा पर्यटन क्षेत्रमा काम गर्ने विद्यार्थीहरुका लागि काम गर्ने घण्टाको कुनै छेकबार हुनेछैन। अर्थात उनीहरुले आफ्नो चाहना र अवसर अनुसार असिमित काम गर्न पाउनेछन्।

त्यसैगरी, हस्पिटालिटी तथा पर्यटन क्षेत्रलाई स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र जस्तै क्रिटिकल उद्ध्योगमा वर्गीकरण गरिनेछ। हस्पिटालिटी तथा टुरिजम क्षेत्रमा काम गर्नेहरुले आफ्नो भिसा अवधि सकिनुभन्दा ९० दिन अगाडी ४०८ कोभिड-१९ भिसाका लागि आवेदन दिन पाउनेछन्। यो भिसाले उनीहरु १२ महिनासम्म अष्ट्रेलियामा बस्न पाउनेछन्।