ग्लोबल मार्कद्वारा आइसीएन प्रतियोगिताका विजेता अनिल कार्की सम्मानित

0
512

होबर्ट। ग्लोबल मार्क एजुकेसन एन्ड भिजा सर्भिसेजले नेपाली विद्यार्थी अनिल जङ्ग कार्कीलाई सम्मान गरेको छ। तास्मानियाको होबर्टमा सम्पन्न भएको आइ कम्पिट नेचुरल( ICN) प्रतिस्पर्धाको गोल्ड मेडल र ब्रोन्ज मेडल विजेता अनिल जङ्ग कार्कीलाई ग्लोबल मार्कले एक कार्यक्रमका बीच सम्मान गरेको हो।

नेपाली समुदायका लागि गौरव मात्र नभई युवाहरुका लागि प्रेरणा समेत बनेका अनिल जङ्ग कार्कीलाई सम्मान गर्न पाउँदा अत्यन्त खुसी लागेको बताउनुहुन्छ, ग्लोबल मार्कका निर्देशक अरुण चित्रकार। उहाँ भन्नुहुन्छ,” अनिलजी विद्यार्थी हुनुहुन्छ। पढाइको चाप, यहाँको व्यस्त जीवनशैली, सबैकुराको सन्तुलन मिलाउनुपर्ने चुनौती हुँदाहुँदै पनि यो पहिचान बनाउनु आफैमा गौरवपूर्ण कुरा हो। यहाँ नियमित शारीरिक व्यायाम गरेर तन्दुरुस्त रहन त मान्छेहरु फुर्सद नभएको गुनासो गर्छन् भने यसरी प्रतियोगितामा नै सहभागी भएर विजेता बन्नु भनेको सम्पूर्ण युवाहरुका लागि प्रेरणा हो। विद्यार्थी लगायत हामी सबैलाई उहाँबाट प्रेरणा लिन जरुरी छ। यही संदेशका लागि पनि सम्मान कार्यक्रम आयोजना गरेका हौँ “।

अनिल जङ्ग कार्किले ICN प्रतिस्पर्धामा मेन्स फिजिक फर्स्ट टाइमर विधामा गोल्ड मेडल र मेन्स फिजिक रुकि विधामा ब्रोन्ज मेडल हात पार्नुभएको थियो। अनिल जङ्ग कार्की तास्मानियाको विश्वविद्यालयबाट आइटिमा स्नातक उत्तीर्ण गर्नुभएका विद्यार्थी हुनुहुन्छ।

सम्मान कार्यक्रममा एनआरएनएका तास्मानिया स्टेट कोअर्डिनटर सन्देश परियार, नेपाली सोसाइटी तास्मानियाका सचिव प्रदिप पोखरेल, तास्मानियन नेपाली क्रिकेट एसोसिएसनका अध्यक्ष प्रकाश उप्रेती र नेपाली बिजनेस एसोसिएसन तास्मानियाका उपाध्यक्ष अनिल श्रेष्ठको उपस्थिती रहेको थियो। कार्यक्रममा बोल्दै एनाआरएनएका स्टेट कोअर्डिनेटर सन्देश परियारले अनिल जङ्ग कार्किको यो उपलब्धी अनिलको मात्रै नभएर सम्पूर्ण नेपालीहरुको गौरवको विषय भएको उल्लेख गर्दै यो उपलब्धिलाई ग्लोबल मार्क एजुकेसन एन्ड भिजा सर्भिसेजले यसरी सम्मान गरेकोमा ग्लोबल मार्क टिमलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। त्यसैगरी, सम्पूर्ण व्यक्तित्वले अनिल जङ्ग कार्कीलाई बधाई ज्ञापन गर्नुभएको थियो।

सम्मान कार्यक्रममा ग्लोबल मार्क एजुकेसन एन्ड भिजा सर्भिसेजले भर्खरै मात्र मेल्बर्नमा सम्पन्न भएको क्रीकेट ट्राइसिरिज -२०२१ को उपाधी विजेता टिम TNCA लाई पनि बधाई व्यक्त गर्दै प्रमाणपत्र प्रदान गरेको छ। टिम TNCA मा क्रिकेट खेल्ने सम्पूर्ण खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले तास्मनियामा रहेका सबै क्रिकेट क्लबहरुलाई बधाई दिदै सम्मान स्वरुप बधाई पत्र छिट्टै नै पठाउने ग्लोबल मार्कका निर्देशक चित्रकारले जानकारी गराउनुभएको छ। त्यसैगरी कार्यक्रममा उपस्थित गुर्खा लिजेन्ड क्रीकेट क्लबका सचिव अभिषेक श्रेष्ठलाई ट्राइसिरिज जित्न गुर्खा लिजेन्ड क्लबका खेलाडीहरुको महत्त्वपूर्ण भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै बधाई स्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो।

ग्लोबल मार्क एजुकेशन तास्मानियाको होबर्टमा रहेर विद्यार्थीहरुलाई गुणस्तरीय तथा विश्वसनीय सेवा दिंदै आएको कन्सल्टेन्सी हो। अनुभवी परामर्शदाताहरुको टिम रहेको यो कन्सल्टेन्सीले विशेष गरी रिजनल क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीका लागि सेवा दिंदै आएको छ। रिजनल क्षेत्रमा करियर बनाउन चाहनेहरुका लागि सबैभन्दा विश्वनीय कन्सल्टेन्सीको रुपमा ग्लोबल मार्कले आफ्नो परिचय स्थापित गरेको बताउनुहुन्छ, निर्देशक अरुण चित्रकार।