अष्ट्रेलियाको मेलबर्नमा नेपाली विद्यार्थी लक्षित मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिम सम्पन्न

0
261

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा नेपाली विद्यार्थी लक्षित मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिम सम्पन्न भएको छ। अष्ट्रेलियन नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) र अष्ट्रेलिया नेपाल पब्लिक लिंक (एएनपीएल) ले विशेषगरी विद्यार्थीमा बढ्दो मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै संयुक्त रुपमा तालिमको आयोजना गरेका हुन्।

मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिम दुई दिनसम्म (२० घण्टा) चलेको थियो। विज्ञ प्रशिक्षकबाट दिइएको तालिममा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो। न्याभका अध्यक्ष राम गुरुङले विद्यार्थीहरुमा कोरोना महामारीका कारण झन् बढ्दै गएको निरासा, तनाव र डिप्रेसनलाई कम गर्न सहयोग गर्दै मानसिक स्वास्थ्य चेतना प्रदान गर्न तथा उनीहरुमा उत्प्रेरणा जगाउनका लागि तालिमको आयोजना गरिएको बताउनुभयो।

त्यसैगरी, एएनपीएलका अध्यक्ष निराजन गौलीले विशेषगरी अष्ट्रेलियामा रहेका नेपालीहरुको मानसिक स्वास्थ्यका लागि एएनपीएलले निरन्तर रुपमा कार्यक्रमहरु गर्दै आएको जानकारी गराउनुभयो। उहाँले विद्यार्थीहरुको मानसिक स्वास्थ्यका लागि तालिमको पहल गरेकोमा न्याभलाई विशेष धन्यवाद समेत व्यक्त गर्नुभयो।

तालिममा सहभागी विद्यार्थीहरुले आफ्ना भोगाई, देखेका कुराहरु, आफ्ना भावना, आफ्नो अहिलेको मानसिक स्थिति आदिका बारेमा खुलेर कुराकानी गरेका थिए। विद्यार्थीहरुले अष्ट्रेलिया आउँदा आफूले आशा गरे अनुरुपको वास्तविकता नपाएको र त्यसले गर्दा मानसिक स्वास्थ्यमा प्रभाव परेको समेत उल्लेख गरेका थिए। तालिम अवधिभर उनीहरुले कुराकानी गरेर, कहिले रोएर, कहिले हाँसेर आफूलाई व्यक्त गरेका थिए।

तालिम सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिंदै न्याभका अध्यक्ष राम गुरुङ भन्नुहुन्छ,” यसरी विद्यार्थीहरु तालिममा सक्रिय रुपमा सहभागी भएर आफूहरुमा नयाँ ऊर्जा आएको बताउँदा हामीलाई पनि आत्मसन्तुष्टि मिलेको छ। मानसिक स्वास्थ्य हामीले निरन्तर कुराकानी गरिरहनुपर्ने विषय हो। यसलाई एएनपीएलले जसरी अगाडी बढाएको छ, म धन्यवाद दिन चाहन्छु। र, हामीले पनि मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुलाई निरन्तरता दिने प्रयास गर्नेछौं “।