

मेलबर्न। टिकटक प्रयोगकर्ताहरुका लागि अष्ट्रेलियाको मेलबर्नमा रहेर नेपाली कला क्षेत्रमा क्रियाशील युवाहरुले सुनौलो अवसर लिएर आएका छन्। मेलबर्न-नेपाल र नेपअस क्रियुसंगको सहकार्यमा ‘हावा सरर’ टिमले यो अफर लिएर आएको हो।
मेलबर्नवासी सुनोद श्रेष्ठको निर्देशन र कुशल आचार्यको स्वरमा ‘हावा सरर’ सार्वजनिक भएको छ। सुनोद श्रेष्ठले नेपाली म्युजिक भिडियो मात्र नभएर अष्ट्रेलियन टेलिफिल्म, फिचर फिल्ममा समेत अभिनय गरेका छन् भने म्युजिक भिडियो तथा कमेडी भिडियोको निर्देशनमा पनि क्रियाशील छन्। त्यसैगरी, गायक कुशल आचार्य ‘द भ्वइस अफ नेपाल सिजन– १’ को फाइनलसम्म पुगेका चर्चित प्रतियोगी हुन्। गायक कुशल आफैले अंकुश अधिकारीसंगको सहकार्यमा हावा सररको शब्द रचना गरेका हुन्। दीप सेभेन र संजिव बराइलीको गितार धुनले गीतलाई अझ कर्णप्रिय बनाएको छ।
यस गीतमा टिकटक प्रयोगकर्ताले नृत्य गरेको भिडियो #hawasararara सहित अपलोड गर्नुपर्नेछ। उत्कृष्ट भिडियोले २५० डलर पुरस्कार जित्नेछ। यस प्रतियोगितामा सहकार्य गरेको मेलबर्न-नेपाल अष्ट्रेलियाको मेलबर्नमा रहेर नेपाली विद्यार्थी सहित नेपाली समुदायको सहयोगमा क्रियाशील समूह हो भने नेपअस क्रियुले मेलबर्नमा रहेका नेपाली युवाहरुलाई संगठित गरी नेपाली कला क्षेत्रका लागि काम गरिरहेको छ।