‘अष्ट्रेलियामा जतिसुकै सुविधा होस्, आमाबुवालाई संगै राख्न पाए मात्र पूर्णता महसुस हुन्छ’

0
523

अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्नो मनको भावना पोख्ने माध्यमको रुपमा यो टक सेसन शुरु गरिएको हो। केक टु नेपालसंगको सहकार्य रहेको यस टक सेसनमा आज हामीले अष्ट्रेलियाको मेलबर्नमा रहनुभएकी संचिता पुडासैनीजीसंग गरिएको कुराकानी समावेस गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो माइती चाहिं चाबाहिल हो। अनि बिहे पछिको घर अनामनगर हो।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
धेरै भयो। २०१० मा हो आएको।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ ?
डिजाइन इन्जिनियरको रुपमा काम गर्दैछु।

नेपाल पछिल्लो समय कहिले जानुभएको थियो ?
२०१४ मा गएर आएको। त्यसपछि जानै पाएकी छैन।

विदेशमा बस्दा आमा र घरपरिवारको सम्झना कत्तिको आउँदो रहेछ?
परिवार त विदेशमा बस्दा सबैभन्दा धेरै मिस हुने कुरा हो। जोसुकै होस्, जतिसुकै सुविधा होस्, आमाबुवा साथमा भएपछि मात्र परिवार पूरा भएजस्तो लाग्छ। मनमा खुसी मिल्छ।

आमाको के कुरा बढी सम्झना आउँछ?
आमाको त हरेक कुरा याद आउँछ। अझ बिरामी भएको बेलामा त झन् बढी याद आउँछ। उहाँले कराउनुभएको, गाली गर्नुभएको सबैकुरा याद आउँछ। पहिलेको सबै याद आउँछ।

आमाले पकाउनुभएको कुन खानेकुरा बढी ‘मिस’ गर्नुहुन्छ?
ममीले खसीको मासु एकदमै मीठो पकाउनुहुन्छ। ममीले पकाएको खसीको मासु सबैभन्दा धेरै मिस गर्छु।

हजुरको आमाको नाम बताइदिनुहोस् न !
करुणा पुडासैनी हो ।

आमाका लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ?
ममीका लागि सबैकुरा गर्न पाए हुन्थ्यो जस्तो लाग्छ। उहाँलाई यता ल्याउने प्रोसेस अगाडी बढाएका छौं। उहाँहरु आउनुभएपछि परिवार पूर्ण भएको महसुस हुनेछ मलाई।

आमाका लागि के संदेश दिन चाहनुहुन्छ ?
जेसुकै भएपनि आमाप्रति माया कहिल्यै मेटिदैन। हजुरलाई धेरै खुसी दिने मन छ। आई लभ यु ममी। धेरै धेरै माया हजुरलाई।

अन्त्यमा, अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई केही सुझाव दिन चाहनुहुन्छ कि?
मैले धेरै नेपाली युवा देखेकी छु, जो यहाँ आएर कुलतमा फसेका छन्, कोही डिप्रेसनमा गएका छन्। त्यसैले बुझेर मात्र हाम फाल्नुस। डलर टिप्न पाइन्छ भन्ने मात्र नसोंच्नुहोला। आफै कमाउने, पढ्ने, खाना बनाउनेदेखि लिएर सबै काम आफै गर्ने, एक्लै भइने हुँदा त्यहाँ बसेर सोंचेजस्तो सजिलो हुँदैन। अभिभावकले पनि एकदमै रिसर्च गरेर मात्र पठाउनुहोला।