धौलागिरी हिमालमा १५ वर्षअघि दुर्घटना भएको हेलिकोप्टर र दुई शव फेला

0
187

काठमाडौँ- धौलागिरी हिमालको आधार शिविरमा हेलिकोप्टरको भग्नावशेष र दुई वटा शव फेला परेको छ । नेपाली सेनाको चालु हिमाल सफाइ अभियानअन्तर्गत धौलागिरी हिमालको आधार शिविरमा हेलिकोप्टरको पाटपुर्जा र दुईवटा शव भेटिएको सैनिक प्रवक्ता सन्तोष बल्लब पौडेलले जानकारी दिए ।

१५ वर्षअघि धौलागिरि हिमालमा दुर्घटना भएको एयर डाइनेस्टीको नाइन एन एसीआर कल साइन भएको हेलिकप्टरको भग्नावशेष भेटेको नेपाली सेनाको भनाइ छ । सन् २००६ मा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरको अवशेष भेटिएको प्रारम्भिक जानकारी प्राप्त भएको सेनाले जनाएको छ ।

मृतकको पहिचान नखुलेको र यस विषयमा अनुसन्धान भइरहेको नेपााली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।सेनाको हिमाल सफाइ अभियानका सदस्यहरूले हिजो (बिहीवार) हेलिकोप्टरको भग्नावशेष र दुई शव फेला पारेका हुन् ।

जारी हिमाल सफाइ अभियानका क्रममा सेनाले ५ हजार १५४ केजी फोहोर संकलन गरेको जनाएको छ । जसमा ३५५ केजी जैविक र ४ हजार ७९९ केजी अजैविक फोहोर संकलन गर‍िएको छ ।

यस्तो छ सेनाले जारी गरेको सूचना