‘अष्ट्रेलियामा रहँदा आमासंग भौतिक दूरी मात्र बढेको हो, मन त सधै उहाँसंगै हुन्छ’

0
466

अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्नो मनको भावना पोख्ने माध्यमको रुपमा यो टक सेसन शुरु गरिएको हो। केक टु नेपालसंगको सहकार्य रहेको यस टक सेसनमा आज हामीले अष्ट्रेलियाको मेलबर्नमा रहनुभएकी सुष्मिता न्यौपानेजीसंग गरिएको कुराकानी समावेश गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ?
मोरङ, पथरी हो।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
दुई वर्ष भयो।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ ?
स्टुडेन्ट भिसामा आएकी हूँ। पढ्दैछु।

विदेशमा बस्दा आमा र घरपरिवारको सम्झना कत्तिको आउँदो रहेछ?
धेरै नै आउँछ। नेपालमा बस्दा जस्तो हुँदैन नि ! यहाँ त टाढा भइन्छ परिवारदेखि अनि झन् बढी याद आउँछ। मन सधै आमासंगै हुन्छ।

आमाको के कुरा बढी सम्झना आउँछ?
आमाले बोलाएको, माया गरेको, खाना बनाएको, गाली गरेको सबै याद आउँछ। यो भन्ने नै छैन।

आमाले पकाउनुभएको कुन खानेकुरा बढी ‘मिस’ गर्नुहुन्छ?
आमाले पकाएको सबैकुरा मीठो लाग्छ। यहाँ आएपछि त अझ बढी सम्झना आउँदो रहेछ। यहाँ अब सबै आफै गर्नुपर्यो। त्यसैले पनि होला, आमाले बनाएको सबै खानेकुरा मिस गर्छु।

हजुरको आमाको नाम बताइदिनुहोस् न !
दुर्गा न्यौपाने हो ।

आमाका लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ?
सबै। आमाले चाहेको, आफूले चाहेको। आमालाई संसारकै सारा खुसी दिउँ भन्ने लाग्छ। सकेजति सबै खुसी दिने प्रयास गर्नेछु ।

आमाको लागि के संदेश दिन चाहनुहुन्छ ?
आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। खुसी रहनुहोला।

अन्त्यमा, अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई केही सुझाव दिन चाहनुहुन्छ कि?
आउन मन लाग्छ भने आउनुस्, राम्रै छ। तर राम्रोसंग बुझेर आउनुस्।