‘अष्ट्रेलिया देश त राम्रो, तर सन्तानलाई टाढा बनाइदिने ‘

0
346

हिमालयन कंगारुले केक टु नेपालसंगको सहकार्यमा विदेशमा रहेका नेपालीहरुका आफन्तसंग कुराकानी शुरु गरेको छ। जसमध्ये ‘आमाको माया’ स्तम्भ पनि एक हो। ‘आमाको माया’ अन्तर्गत आज हामीले लमजुङ्ग, बेसी सहर घर हुनुभएकी सूर्य देवी घिमिरेजीसंग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो ?
मेरा छोरा बुहारीले पठाइदिएका हुन्, मेरो लागि।

यसरी छोरा बुहारीले पठाइदिनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
टाढा-टाढा भएपनि यसरी उपहार पठाउन-लिन पाइने। एकदमै खुसी लाग्यो।

छोरा-बुहारी अष्ट्रेलिया जानुभएको कति भयो ?
उनीहरु अष्ट्रेलिया गएको चार वर्ष भयो।

यसरी छोरा बुहारीसंग टाढा बस्नुपर्दा हजुरलाई कस्तो लाग्छ ?
अब, कस्तो लाग्छ भन्ने ! नरमाइलो त लागिहाल्छ नि छोरा-बुहारीसंग टाढा बस्नुपर्दा। तर हामीले हाम्रो चाहना मात्र हेरेर हुँदैन। उनीहरुको भविष्य पनि हेर्नुपर्छ। पढेका छन्, पढेजस्तो जागिर, उनीहरुले खोजे जस्तो जागिर यहाँ भएन। उता राम्रै गरिरहेका छन्। खुसी छैन पनि कसरी भनूँ ! बूढाबूढी मात्र छौं यहाँ, दुवै छोरा बुहारी उता छन्। नरमाइलो लाग्ने रै’छ, स्वाभाविक नै हो।

छोरा-बुहारीको कुन कुरा बढी याद आउँछ ?
हरेक चाडवाडमा मेरी जेठी बुहारीले ममीले, बुवाले यसरी खाए हुन्थ्यो, यस्तो खाए हुन्थ्यो, यसरी लगाएर राम्रो देखिए हुन्थ्यो भन्ने। म शाकाहारी हूँ। त्यसैले ममीले माछा-मासु खानुहुन्न, ममीका लागि यस्तो-यस्तो बनाउने भन्छिन्। त्यो कुरा साह्रै याद आउँछ। अनि छोराले बुवाममीसंग संगै बस्न पाइएन भनेर हाम्रो चिन्ता लिन्छ। उसको पनि याद आउँछ। नाति पनि छ। चाडपर्वमा सबैजना संगै हुनपाए हुन्थ्यो भन्ने हुन्छ।

घरमा कुन खानेकुरा पाक्दा उहाँलाई बढी सम्झनुहुन्छ ?
छोरालाई साग पकाउँदा धेरै सम्झिन्छु। उसलाई साग मनपर्छ। अनि बुहारीले फेरी पीरो-अमिलो चट्ट भएको अचार मन पराउँछिन्। अचार बनाउँदा बुहारीलाई सम्झिन्छु।

हजुर छोरा बुहारी बसेको ठाउँमा जानुभएको छ ?
गएकी छु नि !

कस्तो लाग्यो त छोरा-बुहारी बस्नुभएको ठाउँ ?
मेरा जेठा छोरा-बुहारी एड्लेड भन्ने ठाउँमा बस्छन्। सानो छोरा-बुहारी सिड्नी भन्ने ठाउँमा बस्छन्। दुवै ठाउँमा गएकी छु। मलाई त एकदमै रमाइलो लाग्यो। हावा-पानी पनि राम्रो। जुस, फलफुल, तरकारी पनि फ्रेस नै हुनेरैछ।

त्यहाँको के कुरा नराम्रो लाग्यो ?
नराम्रो अरु त केही लागेन। राम्रो ठाउँ भएपनि, बाबु-आमा, छोरा-छोरी यसरी छुट्टिनुपर्ने। टाढा छ नि त नेपाल-अष्ट्रेलिया। जति राम्रो भएपनि के गर्नु, टाढा भइन्छ, भेटघाट गर्न पाइंदैन भन्ने हुन्छ बेला-बेलामा।

छोरा-बुहारी नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल हुनुभए पनि राम्रो हुन्छ भन्ने लाग्छ ?
पैसा मज्जाले कमाउन् अनि नेपाल फर्कीउन् भन्ने लाग्छ मलाई त।

छोरा-बुहारीलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
कहिल्यै पनि नराम्रो कामतिर नलाग्नु। आफ्नो ख्याल राख्नु। हाँसी-खुसी रहनु। अरु त के भन्नु र खै !