अष्ट्रेलियाको मेलबर्नमा डाँफे कन्सल्टिङ्गको नयाँ कार्यालय उद्घाटन

0
1100

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा डाँफे कन्सल्टिङ्गको नयाँ कार्यालय उद्घाटन भएको छ। अप्रिल २६, सोमबारका दिन विशेष अतिथिहरुको सहभागितामा कार्यालय उद्घाटन गरिएको हो।

कार्यक्रमका अतिथि भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जनले रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभएको थियो। त्यसैगरी कार्यक्रममा अतिथिको रुपमा एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा घोथाने लयर्सका प्रमुख टोनु घोथाने पनि सहभागी हुनुभएको थियो। उहाँहरुले डाँफे कन्सल्टिङ्गले आफ्नो क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनका लागि डाँफे कन्सल्टिंग टिमलाई शुभकामना समेत दिनुभएको थियो।

त्यसैगरी, कार्यक्रममा सहभागी २५ भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले नयाँ कार्यालय शुभारम्भ गरेकोमा डाँफे कन्सल्टिङ्गलाई बधाई व्यक्त गर्नुभएको थियो।

नयाँ कार्यालय शुभारम्भका बारेमा डाँफे कन्सल्टिङ्गका निर्देशक सन्तोष कर्ण भन्नुहुन्छ, ” डाँफे कन्सल्टिङ्गले दिंदै आएको सेवालाई अझ व्यापक, सहज र छरितो बनाउने अभिप्रायले हामीले हाम्रो कार्यालय यो नयाँ ठाउँबाट संचालन गर्ने निर्णय गरेका हौँ। यस कार्यालयबाट विद्यार्थी तथा हाम्रा सेवाग्राहीले अझ गुणस्तरीय र छरितो सेवा पाउन सक्नुहुनेछ। यो केवल कार्यालय संचालनका लागि मात्र नभएर हामी र विद्यार्थीहरुको बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि सहयोगी हुनेछ भन्नेमा हामी विश्वस्त छौं “।

डाँफे कन्सल्टिङ्ग २०१४ मा नेपाल र अष्ट्रेलियामा एकैपटक संचालनमा आएको थियो। त्यसयता यस कन्सल्टिङ्गले अष्ट्रेलियामा पढ्न चाहने तथा बसाईसराई गर्न चाहने नेपालीहरुका लागि सेवा दिंदै आएको छ। डाँफे कन्सल्टिङ्ग नेपालको काठमाडौं, चितवन तथा अष्ट्रेलियाको मेलबर्न र सिड्नीमा कार्यालयहरु स्थापना गरेर संचालित छ। त्यसैगरी यस कन्सल्टिङ्गले भारतका केही एसोसियट्स पाट्नरहरूसँग मिलेर समेत काम गर्दै आएको छ।