अष्ट्रेलिया घुमेर आउनुभएकी आमाको अनुभव: अष्ट्रेलियामा त नेपाली धेरै भेटिने रै’छन्

0
1369

हिमालयन कंगारुले केक टु नेपालसंगको सहकार्यमा विदेशमा रहेका नेपालीहरुका आफन्तसंग कुराकानी शुरु गरेको छ। जसमध्ये ‘आमाको माया’ स्तम्भ पनि एक हो। ‘आमाको माया’ अन्तर्गत आज हामीले काठमाडौंको सामाखुसी निवासी सुशिला श्रेष्ठजीसंग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो ?
छोरा-बुहारीले पठाएका हुन्। अष्ट्रेलियामा छन्।

यसरी छोरा-बुहारीले पठाइदिनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
रमाइलो लाग्यो। खुसी लाग्यो। पठाइदिइरहन्छन्।

छोरा विदेश जानुभएको कति भयो ?
छोरा गएको ४/५ वर्ष भयो । बीचमा आएर बिहे गरेर अनि गएका हुन्।

यसरी छोराछोरीसंग टाढा बस्नुपर्दा हजुरलाई कस्तो लाग्छ ?
त्यो त भनेर साध्य नै छैन नि ! आमालाई छोराछोरीबाट टाढा बस्न मन लाग्छ त ? के गर्नु ! चलि आएको चलन भनेर मन बुझाउनुपर्यो। फेरी उनीहरु खुसी छन् उता। उनीहरुकै खुसीका लागि त हुर्काएका हौँ। उनीहरु खुसी भएपछि हामी पनि खुसी ।

उहाँको कुन कुरा बढी याद आउँछ ?
मामु भनेर बोलाको याद आउँछ। जता गएपनि मलाई संगै लैजान खोज्ने। अनि जहाँबाट आएपनि मामु भन्दै बोलाउंदै आउने घरभित्र आउँदा। कति आउँछ कति याद !

घरमा कुन खानेकुरा पाक्दा उहाँलाई बढी सम्झनुहुन्छ ?
उसलाई किमा निकै मनपर्छ। बफ किमा बनाउँदा उसको याद आउँछ।

हजुर छोरा-बुहारी बसेको ठाउँमा जानुभएको छ ?
अँ, एकपटक गएर आएकी हूँ। मेरी बहिनी अनि उसको परिवार पनि अष्ट्रेलियामै छ। बहिनीले बोलाएर गएकी थिएँ।

हजुरलाई कस्तो लाग्यो त अष्ट्रेलिया ?
रमाइलो लाग्यो मलाई त। धेरै त नेपाली नै भेट्ने। त्यसैले पनि रमाइलो लाग्यो।

अष्ट्रेलियाको के कुरा नराम्रो लाग्यो ?
त्यहीं बस्न गएको भए नराम्रो पनि लाग्थ्यो होला। अब घुम्न गएको भएर होला, मलाई त सबै राम्रो मात्र लाग्यो।

छोरा-बुहारी नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल हुनुभए पनि राम्रो हुन्छ भन्ने लाग्छ ?
आउने-जाने गर्छन्। हामीलाई पनि उता बोलाउन खोजिरका छन्। अब सधै बस्नेगरि त उनीहरु कता खुसी हुन्छन् , त्यतै बसुन्। राम्रै गरीर’का छन् अहिलेसम्म। बुहारी पनि नर्स हुन्।

छोरा-बुहारीलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
तिमीहरुलाई कहिल्यै दु:ख नपरोस्। खुसी रहनु। सुखी रहनु।