‘अष्ट्रेलियामा छोरी खुसी छ भने ठिकै छ, आमाका लागि छोराछोरीको खुसी सबैभन्दा ठूलो हुन्छ’

0
404

हिमालयन कंगारुले केक टु नेपालसंगको सहकार्यमा विदेशमा रहेका नेपालीहरुका आफन्तसंग कुराकानी शुरु गरेको छ। जसमध्ये ‘आमाको माया’ स्तम्भ पनि एक हो। ‘आमाको माया’ अन्तर्गत आज हामीले काठमाडौं निवासी बिनु भुजेलजीसंग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो ?
मेरी छोरीले पठाइदिएकी हो, अष्ट्रेलियाबाट।

यसरी छोरीले पठाइदिनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
एकदमै धेरै खुसी लाग्यो। छोराछोरीले यसरी सम्झिँदा खुसी लाग्छ नि बाबा-आमालाई।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
ऊ गएको त साढे तीन वर्षै हुनलाग्यो।

यसरी छोरीसंग टाढा बस्नुपर्दा हजुरलाई कस्तो लाग्छ ?
छोराछोरीसंग टाढा बस्नुपर्दा कुन चाहिं आमालाई नरमाइलो लाग्दैन र ! तर उनीहरुको भविष्यका लागि, उनीहरुको खुसीका लागि बस्न परिगो नि !

छोरीको कुन कुरा बढी याद आउँछ ?
मेरी छोरी एकदमै हँसिली छे। बोलिरहन्छे। बाहिरबाट आएर घरभित्र पस्दा पनि ममी भनेर बोलाउंदै भित्र जान्थी। हुन त अहिले पनि दिनदिनै कुरा हुन्छ। तरपनि घर शुन्य भएजस्तो लाग्छ ।

घरमा कुन खानेकुरा पाक्दा उहाँलाई बढी सम्झनुहुन्छ ?
मेरी छोरी माछा-मासु खान्न। उसलाई च्याउ मनपर्छ। च्याउ बनाउँदा खुसी हुन्थी। त्यही याद आउँछ।

हजुर छोरी बसेको ठाउँमा जानुभएको छ ?
छोरी मास्टर पढ्न गएकी हो। पढाइ सकिएपछि हामी जान पाइने रैछ नि त। तर यो लकडाउनले गर्दा जान पाइएन। अब राम्रो भयो सबैकुरा भने जाने हो।

छोरी नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल हुनुभए पनि राम्रो हुन्छ भन्ने लाग्छ ?
आमाका लागि छोराछोरीको खुसी सबैभन्दा ठूलो हो। सधै आफूसंग राख्न खोजेर पनि भएन। उनीहरुको भविष्य पनि हेर्नुपर्यो। त्यहाँ उसलाई राम्रो हुन्छ, खुसी मिल्छ भने उतै बसे पनि राम्रै लाग्छ।

छोरीलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
राम्रोसंग बस्नु। आफ्नो ख्याल राख्नु। अरु त के भन्नु र ! फोनमा दिनदिनै कुरा हुन्छ।