कोरोनाको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने अर्थमन्त्री पौडेलको भनाइ

0
73

कोभिड-१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्। सोमबार टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ को २८ औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा कोभिड–१९ को संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताएका हुन्।

जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवनलाई पुरानै लयमा फर्काउनुपर्ने अवस्था आएको पनि बताएका छन् । ‘कोभिडको दोस्रो लहर दुनियाँकै सामुन्नेमा चुनौतीको रुपमा देखा परेको छ । हामीकहाँ पनि यसको लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलनहरु गरिएको छ । हामीले अब कोभिडबाट नागरिकको जीवन रक्षा गर्ने विषय र जीविकाको रक्षा गर्ने विषय यतिबेला राष्ट्रको सामुन्नेमा सर्वाधिक प्राथमिकताको÷सरोकारको विषय बन्न पुगेको छ । जीवनको रक्षा र जीविकाको रक्षा गर्दै हामीले आर्थिक, सामाजिक जीवनलाई पुरानै लयमा फर्काउने र गतिशिल बनाउँदै उन्नति, समृद्धिको यात्रा तय गर्ने विशिष्ट अवस्थामा छौं ’उनले भने। 
अर्थमन्त्री पौडेलले कसैले पनि लापरबाही गर्नु नहुने बताउनुभयो । सरकारले सबै प्रकारका सम्भाव्य उपायहरु अवलम्बन गरेर कोभिड विरुद्धको लडाइलाई जित्न चाहेको उल्लेख गर्दै उहाँले यसका निम्ति आम नागरिक र सबै संघसंस्थाहरूको सहयोग आवश्यक पर्ने बताएका छन्। बैंक तथा वित्तीय संस्थाहरुको समस्या समाधानको सम्बन्धमा आएका सुझावहरु मध्ये आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा जायज र सम्भव भएका सुझावहरूलाई ग्रहण गरिने पनि अर्थमन्त्री पौडेलले बताएका छन् ।