संक्रमण नियन्त्रणमा नभएपछि नयाँ दिल्लीमा लकडाउनको अवधि थप

0
482

भारत, भारतको राजधानी नयाँ दिल्लीमा थप एक हप्ताको लागि लकडाउनको अवधि बढाइएको छ। आगामी सोमबार बिहान ५ बजेसम्मका लागि मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन जारी रहने जानकारी दिएका हुन्। उनले संक्रमण रोक्न लकडाउन अन्तिम हतियार भएको बताएका छन्। यसअघि दिल्लीमा गत १९ अप्रिलदेखि लकडाउन शुरु भएको थियो। अप्रिल २६ बिहान ५ बजेसम्म जारी रहने  थियो ।

आइतबार केजरीवालले पुन:अक्सिजनको कमीको मुद्दा उठाए। उनका अनुसार केन्द्रसँग ४९० मेट्रिक टन अक्सिजन माग गरिएकोमा सो हालसम्म प्राप्त नभएको बताएका छन्। दिल्लीमा दैनिक ७ सय मेट्रिक टन अक्सिजन आवश्यक रहेको उनको भनाइ थियो । 

केजरीवालले लकडाउन लागू गरिए पनि हालसम्म संक्रमण कम नभएको जिकिर गरेका छन् । ‘कोरोनाविरुद्ध यो अन्तिम हतियार थियो । तर, अहिले पनि संक्रमण कम भएको छैन । हामीले सबैसँग छलफल गर्दा लकडाउन लगाउन सुझाव आयो । लकडाउनका दौरान संक्रमण दर ३६ देखि ३७ प्रतिशतसम्म पुगेको थियो । एक दुई दिन दिनमा यो दर ३० प्रतिशत भन्दा कम पुगेको छ । हामी भगवानसँग प्रार्थना गर्छौं कि चाँडै हामीलाई कोरोनाबाट मुक्ति मिलोस् ।’

दिल्लीमा शनिबार २२ हजार ६९५ जना संक्रमित पाइएका थिए । सो दिन २३ हजार ५७२ जना निको पनि भए भने ३५७ जनाले ज्यान गुमाए । दिल्लीमा हालसम्म १० लाख ४ हजार ७८२ जना संक्रमित भइसकेका छन् । यसमध्ये ८ लाख ९७ हजार ८०४ जना निको पनि भएका छन् भने १३ हजार ८९८ जनाको मृत्यु भएको छ । ९३ हजार ८० जनाको उपचार भइरहेको छ ।

स्रोत : दैनिक भास्कर