प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुखबीचको सम्झौता भन्दै प्रकाशन गर्ने पत्रकार पक्राउ

0
169

काठमाडौँ । समाचार प्रकाशन गरेकै कारण उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ्ग र महा- प्रवन्धक दुर्गालाल तामाङ्ग ‘प्रभात’ लाई प्रहरीले पक्राउ गरेको छ।

दुर्गालाललाई बसुन्धराबाट महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले पक्राउ गरेको हो। अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कबाट नियन्त्रणमा लिईएको छ। उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ।

सो अनलाइनले केहि दिन पहिले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीचको सम्झौता भन्दै एक सामग्री प्रकाशन भएको थियो। सोहि अनलाइनले पछि गल्ती स्वीकार गर्दै प्रेस काउन्सिलमा माफी समेत मागेका थिए।

प्रहरीले समाचार प्रकाशन पछि नेटवर्कका सम्पादक बुद्ध लोप्चन सहितका पत्रकारलाई धरपकड शुरु गरेको थियो।महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुलाई राज्य विरुद्धको कसुर र लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।

अनिश तामाङ सहितका पत्रकारलाई धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो । तर,प्रहरीले सो आदेशको अवज्ञा गरेको छ ।