‘अष्ट्रेलियामै बसोस् छोरी, नेपालमा हामी जस्ता साधारण मान्छे अगाडी बढ्ने वातावरण छैन’

0
185

हिमालयन कंगारुले केक टु नेपालसंगको सहकार्यमा विदेशमा रहेका नेपालीहरुका आफन्तसंग कुराकानी शुरु गरेको छ। जसमध्ये ‘आमाको माया’ स्तम्भ पनि एक हो। ‘आमाको माया’ अन्तर्गत आज हामीले मोरङ, पथरी निवासी दुर्गा न्यौपानेजीसंग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो ?
मेरा लागि होइन, आफ्ना बाबाका लागि हाम्री छोरीले पठाएकी । अष्ट्रेलियाबाट।

यसरी छोरीले पठाइदिनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
छोराछोरीले यसरी उपहार पठाउँदा कसलाई खुसी लाग्दैन होला र ! बाबापनि खुसी हुनुभयो। मलाई पनि खुसी लाग्यो।

छोरी अष्ट्रेलिया जानुभएको कति भयो ?
अब तीन वर्ष पुग्न लाग्यो।

यसरी छोरीसंग टाढा बस्नुपर्दा हजुरलाई कस्तो लाग्छ ?
अलि दिन पालेपछि जनावरको त माया लाग्छ, टाढा हुँदा पीर पर्छ। छोरी त आफ्नो सन्तान, मुटुको टुक्रा। बुढाबुढी मात्र घरमा छौं। छोरा पनि विदेशमा छ। आफ्ना सन्तान आफैसंग भए हुन्थ्यो भन्ने हुन्छ। नयाँ-नयाँ कुरा केही थाहा हुँदैन हामीलाई, संगै भएको भए उनीहरुले सिकाउने थिए। ठूला भए, साथीजस्तै गरेर रमाइलो गर्दै, दु:ख-सुख बाँड्दै बस्नुहुन्थ्यो। तर के गर्नु ! देशको स्थिति यस्तो छ। हामी जस्ता सोझासाझालाई अगाडी बढ्ने वातावरण छैन। टन्न पैसा हुने, नेतासंग चिनजान हुने अगाडी बढ्न पाउँछ। हाम्रो त बोली सुनिदिने पनि कोही हुँदैन। अपराध त्यत्तिकै बढिरहेको छ। छोरीहरु बाहिर निस्केपछि घर नआइपुगुन्जेल डर मान्नुपर्ने वातावरण छ। यस्तोमा विदेशमा बसेर उनीहरु सुरक्षित, खुसी छन् भने राम्रै छ।

छोरीको कुन कुरा बढी याद आउँछ ?
छोरी यहाँ हुँदा घर नै रमाइलो हुन्थ्यो। खानामा अचार, यता उता मीठो बनाउँथी। उसका साथीहरु आउंथे। हाँस्थे, टिकटक बनाउँथे। तीज आउँदा पनि रमाइलो हुन्थ्यो। अहिले त एक्लै बसेजस्तो लाग्छ। के गर्नु, आफ्नो जिन्दगी यत्तिकै बित्यो, उनीहरुले प्रगति गरुन्, जिन्दगी हाँसी-खुसी बिताउन्।

घरमा कुन खानेकुरा पाक्दा उहाँलाई बढी सम्झनुहुन्छ ?
मेरी छोरीलाई फर्सीको तरकारी एकदमै धेरै मनपर्छ। अहिले पनि ‘ममी फर्सीको तरकारी छैन’ भनेर सोध्छिन् उताबाट। मैले के गर्ने छोरी, फर्सीको पखेटा हुनेभए म पठाइदिने थिएँ भन्छु। अनि हाँस्छिन् छोरी।

हजुर छोरी बसेको ठाउँमा जानुभएको छ ?
गएकी छैन। छोरीले अलि पछि बोलाउँछु ममी तपाईंलाई भनेकी छिन्।

छोरी नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल हुनुभए पनि राम्रो हुन्छ भन्ने लाग्छ ?
आफ्ना छोराछोरी आफूभन्दा टाढा बसुन् भन्ने कसलाई चाहना हुन्छ र ! तर नेपालको माहोल हेर्दा उतै सुखले बसुन् भन्ने हुन्छ। अब पछि नेपालमा पनि अलि शान्ती छायो भने फर्केर आए हुन्थ्यो।

छोरीलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
केक टु नेपालबाट तिमीले पठाइदिएको सामान राम्रोसंग ल्याइदिनुभयो उहाँहरुले। खुसी लाग्यो। तिमी राम्रोसंग बस्नु। हाम्रो आशिर्वाद छ।