गण्डकीमा गुरुङ सरकारको छिनोफानो १३ गते हुने

0
243

पोखरा – गण्डकी प्रदेश सरकारको विशेष अधिवेशन वैशाख १३ गते बस्दै छ। सभाको विशेष अधिवेशनले गुरुङ सरकारको छिनोफानो लगाउने छ। कांग्रेस, माओवादी र जसपाका २८ सांसदले विशेष अधिवेशनको माग गरेपछि १३ गते प्रदेश सभाको विशेष अधिवेशन हुँदै छ।

आफ्नो सरकारको विरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने चाल पाएपछि चालु संसद अधिवेशन नै अन्त्य गराएका मुख्यमन्त्री गुरुङले पुनः संसद फेस गर्नु पर्ने भएको हो। मुख्यमन्त्री गुरुङको यो कदमलाई धेरैले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दाँजेका थिए। ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन्।

कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका तीन, जसपाका दुई र एक जना स्वतन्त्र सांसद छन्। यसै पनि अल्पमतमा रहेको गुरुङ नेतृत्वको सरकार फेरिने पक्कापक्की जस्तै छ। आकस्मिक बाहेकको अवस्थामा गुरुङ सरकार परिवर्तन हुने देखिन्छ। विपक्षी दलका सांसदहरु नयाँ सरकार आउने बताउछन्। राष्ट्रिय जनमोर्चा (राजमो) की सांसद पियारी थापा आकस्मिक बाहेकको अवस्थामा नयाँ सरकार आउने बताउँछिन्।

‘भित्र आकस्मिक खालको खेलहरु नखेलिए, फ्लोर क्रसदेखि यो त फेरिन्छ नि त। माथिदेखिको परिस्थिति छ’ उनले भनिन्, ‘हामीले चाहेको पनि ओली पक्षधरको बहिर्गमन नै हो।’ गुरुङ नेतृत्वको सरकारको निर्णायक भुमिकामा रहेको राजमोले अन्तिम समयमा सरकारबाट हात झिकेको थियो। राजमोको समर्थन पाएको खण्डमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारलाई बहुमत पुग्थ्यो।

यता, माओवादीबाट निर्वाचित सांसद दीपक कोइराला अहिलेको सरकारको ठाउँमा नयाँ सरकार आउने दाबी गर्छन्। ‘सरकार जान्छ, नयाँ सरकार आउछ’ उनले भने। संसद अधिवेशन अन्त्य भएको भोलिपल्टै दर्ता भएको अविश्वास प्रस्ताव विशेष अधिवेशनमा टेबुल हुने छ। प्रस्तावमाथि छलफलपछि मतदान हुने सांसद कोइरालाले बताए।

‘भोलि कार्यव्यवस्था परामर्श समितिको मिटिङ छ’ त्यसले कस्तो कार्यसूची बनाउँछ। त्यसैमा भर पर्छ। सकेसम्म १३ गते नै टुंगो लगाउने भन्ने कुरो छ।’ समितिको बैठकले अविश्वास प्रस्तावमाथि मतदान गर्ने मितिको टुंगो भोलि लगाउने छ। अविश्वास प्रस्तावको पक्षमा बहुमत आए मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त हुनेछन्। प्रस्तावमाथि छलफल लम्बिएको खण्डमा १५ गतेसम्म सरकारको छिनोफानो हुने छ। दलहरु सहमत भए १३ गते नै प्रस्तावमाथि छलफल हुने छ।

कर्णालीको घटना दोहोरिने खतरा

सरकार परिवर्तनको चर्चासँगै कर्णालीकाे घटना गण्डकीमा दोहोरिने आँकलन पनि गरिएको छ। पार्टीको ह्वीप विपरित अविश्वास प्रस्तावको विपक्षमा मत खसालेर नजिर राखेका कर्णालीका सांसदले जस्तै गण्डकीमा पनि पार्टी ह्वीप विपरित मतदान हुने चर्चा छ।

सिंगो प्रदेशभर बागलुङबाट निर्वाचित माधव नेपाल पक्षका एक्ला सांसद इन्द्रलाल सापकोटाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने आशंका गरिएको छ। यस विषयमा सांसद सापकोटा दलको ह्वीप अनुसार चल्ने बताउँछन्। ‘दलको बफादार सिपाही भएर दलको ह्वीप मान्छु’ उनले भने,‘नमाने त संसदीय दलको सदस्य नै भइएन।

कर्णालीकाले सोध्ने बनाए। ठोकेका हुन्। त्यसको लागि मुटु दरो चाहिन्छ।’ अहिलेको अवस्थामा सिनमै पिक्चर क्लियर देखिएको उनले बताए। प्रतिपक्ष र पक्षका सबै जना पार्टीप्रति इमानदार देखिएकाले कर्णालीको घटना नदोहोरिने उनले दाबी गरे।

मुख्यमन्त्री गुरुङको सट्टामा प्रमुख प्रतिपक्ष कांग्रेसका संसदीय दलका नेता प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको भागमा गण्डकी सरकार हात लाग्छ कि गुरुङले नै बाजी मार्छन्। यसको छिनोफानोको लागि १३ गते नै कुर्नुपर्छ।