‘अष्ट्रेलिया आएपछि आमालाई भेट्न जान पाउनु नै सबैभन्दा ठूलो कुरा बन्दोरहेछ’

0
436

अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्नो मनको भावना पोख्ने माध्यमको रुपमा यो टक सेसन शुरु गरिएको हो। केक टु नेपालसंगको सहकार्य रहेको यस टक सेसनमा आज हामीले अष्ट्रेलियाको क्विन्सल्याण्डको गोल्डकोस्टमा रहनुभएकी सुनिता भुजेल थापाजीसंग गरिएको कुराकानी समावेश गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ?
पूरानो घर सिन्धुपाल्चोक हो। अहिले चाहिं काठमाडौंमा।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
साढे तीन वर्ष भयो।

हाल के गर्दै हुनुहुन्छ ?
पढ्दैछु। एजुकेशन एण्ड बिजनेस पढ्दैछु।

नेपाल कहिले जानुभएको थियो ?
यता आएपछि जानै पाएकी छैन। कहिले जान पाउने होला, कहिले आमालाई भेट्न पाउने होला भन्ने भएको छ। ग्राजुएसनमा आमालाई बोलाउने भन्ने योजना पाएकी थिएँ, तर कोभिडले गर्दा आमालाई बोलाउन पनि पाइएन।

विदेशमा बस्दा आमा र घरपरिवारको सम्झना कत्तिको आउँदो रहेछ?
एकदमै धेरै आउँछ। धेरै नै मिस गर्छु मैले त।

आमाको के कुरा बढी सम्झना आउँछ?
आमाको त जहिले पनि सम्झना आउँछ। तर समस्या परेको बेलामा झन् बढी सम्झना आउँछ। यहाँ बिरामी पर्दा आमाको याद धेरै आउँछ।

हजुरको आमाको नाम बताइदिनुहोस् न !
बिनु भुजेल।

आमाका लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ?
अहिले त आमालाई भेट्न पाए हुन्थ्यो भन्ने लागेको छ। उहाँलाई नेपाल घुमाउन, यहाँ अष्ट्रेलिया घुम्न बोलाउन मन छ। पहिले त आमाको लागि केही गर्न सक्दिनथें, तर अहिले सबै खुसी दिन पाए हुन्थ्यो भन्ने लाग्छ।

आमाले पकाउनुभएको कुन खानेकुरा बढी ‘मिस’ गर्नुहुन्छ?
म शाकाहारी हूँ। आमाले पकाएको गुन्द्रुक धेरै मिस गर्छु।

आमाको लागि के संदेश दिन चाहनुहुन्छ ?
आमालाई धन्यवाद दिनको लागि कुनै शब्द नै छैन मसंग। विदेशमा आएपछि आफूलाई जन्म दिने आमाबुवाको धेरै नै याद आउँदो रहेछ। अब चांडै नै भेट्न आउंछु उहाँहरुलाई।

अन्त्यमा, अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई केही सुझाव दिन चाहनुहुन्छ कि?
एक्लै हुँदा खान पकाउनदेखि लिएर कमाउन पनि गाह्रो हुन्छ। परिपक्क भएर मात्र आउनुस्। राम्रोसंग रिसर्च गरेर आउनुस् ।