हेटौडामा निजी तथा साना भाडाका सवारी साधनमा जोरबिजोर प्रणाली

0
149

मकवानपुर। जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार देखि कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि हेटौडामा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने भएको छ। शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले कोरोना भाइरसको संक्रमण डर तीव्र रुपमा वृद्धि भएको भन्दै आइतबारबाट हेटौडामा निजी साधनहरु तथा ट्याम्पो,अटो म्याजिक र मयुरीहरुमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो । 

बैठकले पार्टी प्यालेस, पर्यटकीय क्षेत्र, पार्कजस्ता क्षेत्र वैशाख मसान्तसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयको निर्देशनअनुसार स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न लगाउने, सभा, सम्मेलन तथा भिडभाड हुने खालका कार्यक्रम गर्न नदिने, शैक्षिक संस्था बन्द गर्ने लगायतका निर्णय बैठकले गरेको छ।

साथै मास्क अनिवार्य प्रयोग गर्न लगाउने,सार्वजनिक स्थलमा मास्कको प्रयोग नगर्नेहरुलाई संक्रमण रोग ऐन २०२० बमोजिम कारवाहीको सिफारिस गर्ने उल्लेख गरेको छ। बैठकले सहायक प्रमुख जिल्ला अधिकारी  चिरञ्जीवी शर्माको संयोजकत्वमा अनुगमन  समितिसमेत गठन गरी अनुगमनलाई तीव्रता दिने निर्णय गरेको छ।