अष्ट्रेलियामा जागिर प्राप्त गर्नका लागि गर्नुपर्ने तयारी

0
268

अष्ट्रेलिया आउने हरेक अन्तराष्ट्रिय विद्यार्थीका लागि अष्ट्रेलियामा जागिर गर्न पाउनु आफूलाई ठुलै भाग्यमानी ठान्छन् किनकी यहाँबाट उनीहरुको देश बिदेशका साथीसंग मित्रता हुन्छ, नयाँ सीप सिक्न सकिन्छ र भविष्यमा यहाँबाट लिएको सीप र कलाले संसारको जुनसुकै ठाउँमा पुगेपनि बिना जागिर वा बिना काम बस्नुपर्दैन। अष्ट्रेलियामा आएर जागिर खानु त्यति सजिलो त छैन किनभने यहाँ हरेक दिन संसारका विभिन्न ठाउँबाट विभिन्न क्षमता भएका मानिसहरु जागिरको खोजीमा हुन्छन्। जागिरको लागि प्रतियोगिता जित्न गाह्रो छ तर असम्भव भने छैन।

अष्ट्रेलियामा जागिर पाउनका चल्नुपर्ने ७ कदम:

१ – सबैभन्दा पहिले अन्तराष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलियन कानूनले दिएको अधिकारबारे राम्ररी बुझ्नुहोस्।
अष्ट्रेलियन कानून अनुसार भ्यालिड भिसामा रहेको अन्तराष्ट्रिय विद्यार्थीले क्लासको सेसन समयमा हप्ताको ४० घण्टा सम्म काम गर्न सक्छ भने क्लास अफ भएको अर्थात बिदाको समयमा उसले अनलिमिटेड समय काम गर्न अनुमति छ।

२ – अष्ट्रेलियामा पाइने जागिरका किसिम र जागिर दिने कम्पनीका बारेमा रिसर्च गर्नुहोस्।
अब अष्ट्रेलियामा पाइने जागिरहरुका बारेमा जान्नुहोस्। जागिर दिन आवेदन खुलाएका कम्पनीका बारेमा बुझ्नुहोस् र आफूले सो कम्पनीको कुन टाइटलका लागि आवेदन भर्ने भन्ने कुरामा निश्चित हुनुहोस् र आफूलाई उपयुक्त जागिरका लागि आवेदन भर्नुहोस् । कम्पनीले आवेदन खुलाएका हरेक जब टाइटलमा आवेदन भर्नु उपयुक्त हुँदैन किनकी रोजगारदाताले आफूसंग पूर्ण उत्सुकताका साथ काम गर्ने कामदार या कर्मचारी खोजेको हुन्छ नाकी यसै सबै जब टाइटलमा आवेदन भर्ने व्यक्ति। त्यसैगरी, आफ्ना साथी, आफन्त या चिनजानका मान्छे कहाँ काम गर्दैछन्, कस्तो काम गर्दैछन् भन्ने कुरा बुझेर सम्बन्ध बढाउनुहोस, जागिरका लागि सहयोगको अनुरोध गर्नुहोस्।

३ – आवेदन खुलाएका जागिरको बारेमा राम्ररी पढ्नुहोस र बुझ्नुहोस्।

आवेदन खुलाएको जागिरका लागि चाहिने काम सम्बन्धि अनुभव ,योग्यता र सीप र जिम्मेदारी बारे बुझ्नुहोस्। आफूले भर्ने आवेदनमा एम्प्लोयेरले खोजे अनुसार आफ्नो योग्यता ,सीप , कामको अनुभवका साथै आफ्नो जिम्मेदारी पूरा गर्न आफू सक्षम रहेको बताउनुहोस्।

४- आफ्नो सीभी का साथमा कभर लेटर पनि लेख्नुहोस्।

जागिर पाउनको लागि सर्वप्रथम आफ्नो योग्यता , सीप ,कला ,काम सम्बन्धि अनुभव समेटेर सीभी तयार गर्नुका साथै आफूलाई सो कम्पनीमा जागिर गर्न मन लागेको कारण ,आफ्नो कामको अनुभव र भविष्यमा कम्पनीको उन्नतिका लागि आफूले जिम्मेदारी बहन गर्न सक्ने कुरा छोटो मिठो तरिकाले कभर लेटरमा प्रस्तुत गर्नुपर्छ।
कभर लेटर जागिरका लागि उम्मेदवार छान्ने व्यक्तिसंग सम्बन्धित हुन्छ जुन १ पेज भन्दा छोटो हुनुपर्छ।

५ – जागिरका लागि आवेदन भरेपछि आफूले फलो अप गर्नुहोस्।

आवेदन भरेको १ देखि २ हप्तामा यदि तपाईलाई कम्पनीले बोलाएन भने तपाईं आफै सो कम्पनिमा गएर बिनम्र तरिकाले सोधपुछ गर्न सक्नुहुन्छ। कम्पनीमा हजारौँ आवेदन आउने र अरु कामको पनि प्रेसर हुनेहुँदा तपाईंलाई फोन नगएको हुनसक्छ। यस्तो अवस्थामा तपाईं आफै कम्पनीमा पुगी आफ्नो आवेदनका बारेमा जिज्ञासा राख्दा तपाईं उनीहरुसंग काम गर्न इच्छुक रहेको दर्शाउँछ।
हरेक एम्प्लोयेरलाई दृढ व्यक्ति मनपर्छ।

६ – अन्तर्वार्ताका लागि आफू तयार रहनुहोस्।

आजभोलि विभिन्न कम्पनीमा विभिन्न तरिकाले अन्तर्वार्ता लिईन्छ। कोहि कम्पनीको अन्तर्वार्ता क्याजुअल लन्च हुन्छ भने कसैको फोन इन्टरभियु तथा ग्रुप इन्टरभियु पनि हुने गरेको छ। त्यसैले तपाईंले हर तरहको अन्तर्वार्ताका लागि आफूलाई तयार पार्नुहोस र आफ्नो आत्मबल बढाउनुहोस।

७ – रोजगारदातालाई फलो अप गर्नुहोस्।

अन्तर्वार्ता पछि केहि दिनसम्म पनि आफूलाई कम्पनीको तर्फबाट फोन आएन भने तपाईं आफै एम्प्लोयरसंग फलो अप गर्नुहोस् र आफू सेलेक्ट भए नभएको चेक गर्नुहोस्। यदि तपाईंलाई एम्प्लोयेरको तर्फबाट पोजेटिभ उत्तर आयो भने तपाईंको पेशा तथा व्यवहारका बारेमा पोजेटिभ कुरा बताउन सक्ने २ जनाको नाम एम्प्लोयेर समक्ष पेश गर्न तयार राख्नुहोस। किनकी तपाईलाई हायर गर्नु अघि एम्प्लोयेरले तपाईंलाई चिनेका व्यक्तिहरुबाट पनि तपाईंको निरिक्षण गर्दछ।