अष्ट्रेलियामा लाइफगार्डको जागिर र तलब

0
1041

स्विमिङ्ग पुल तथा बिचहरुमा पौडी खेल्न आएका व्यक्तिहरुको सुरक्षा गर्ने पेशा लाइफगार्ड हो। लाइफगार्ड पेशामा आबद्ध हुन चाहने व्यक्तिलाई राम्रोसँग पौडी खेल्न आउनुपर्छ साथै पौडी खेल्दा खेल्दै कोहि डुब्न लागे उसलाई बचाउन सक्ने हुनुपर्छ। लाइफगार्ड बन्ने व्यक्तिले जीवन बचाउने टेक्निक र प्राथमिक उपचारका बारेमा ट्रेनिंग प्राप्त गरेको हुनुपर्छ। साथै लाइफगार्डको सर्टिफिकेट प्राप्त हुनुपर्छ।

त्यस्तै, लाइफगार्डले स्विमिङ्ग पुलको पानीको अवस्थाका साथै पानीमा हुन सक्ने हानिकारक वस्तु वा जन्तु बारे बेला बेलामा जाँच गरिरहनुपर्छ। लाइफगार्डको काम आउटडोर तथा इनडोर स्विमिङ्ग पुलमा हुन्छ।

लाइफगार्डको जिम्मेवारी :
१ – पौडी खेल्न आएका व्यक्तिलाई चोट लागेमा प्राथमिक उपचार दिनुपर्छ त्यस्तै ठूलो चोट लागेमा तुरुन्तै एमर्जन्सी मेडिकल सर्भिसलाई खबर गर्नुपर्छ।
२ – स्विमिङ्ग पुलको वरिपरी सुरक्षित वातावारण कायम राख्नुपर्छ।
३ – पुल ,स्पा तथा सना बाथको अवस्था नियमानुसार कायम राख्नुपर्छ।

पेस्केलका अनुसार, अष्ट्रेलियामा लाइफगार्डको प्रति घण्टा औसत तलब २१.५९ अष्ट्रेलियन डलर रहेको छ। लाइफगार्ड सम्बन्धि आधारभूत कुराहरु थाहा भएको र सम्बन्धित काममा एक वर्षभन्दा कम समयको अनुभव भएको व्यक्तिले प्रति घन्टा औसत २०.५१ अष्ट्रेलियन डलर पाउन सक्छ।

एकदेखि चार वर्षको अनुभव भएको लाइफगार्डले प्रति घण्टा औसत २१.५६ अष्ट्रेलियन डलर पाउन सक्छ भने पाँच देखि नौ वर्षको अनुभव भएको लाइफगार्डले प्रति घण्टा औसत २४.१६ अष्ट्रेलियन डलर पाउन सक्छ। त्यस्तै दश देखि उन्नाइस वर्षको अनुभव भएको लाइफगार्डले प्रति घण्टा औसत २७.०५ अष्ट्रेलियन डलर पाउन सक्छ भने बीस वर्ष भन्दा माथिको अनुभव भएको व्यक्तिले प्रति घण्टा औसत ३० अष्ट्रेलियन डलर पाउन सक्छ।