‘अष्ट्रेलियामा बसेपनि आमाले पकाएको मकैको ढिँडो याद आउँछ’

0
477

अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्नो मनको भावना पोख्ने माध्यमको रुपमा यो टक सेसन शुरु गरिएको हो। केक टु नेपालसंगको सहकार्य रहेको यस टक सेसनमा आज हामीले अष्ट्रेलियाको सिड्नीमा रहनुभएका महेश कुमार रेग्मीजीसंग गरिएको कुराकानी समावेश गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ?
टाँडी, चितवन हो।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
२०१५ मा आएको हूँ।

हाल के गर्दै हुनुहुन्छ ?
काम अनि घरपरिवार त्यस्तै हो। सामान्य जीवन।

अष्ट्रेलिया आएदेखि यता नेपाल जानुभएको छ ?
यही कोरोना महामारी शुरु हुनुभन्दा अगाडी पनि गएको थिएँ।

विदेशमा बस्दा आमा र घरपरिवारको सम्झना कत्तिको आउँदो रहेछ?
त्यो त हिसाब नै छैन। सधै याद आउँछ।

आमाको के कुरा बढी सम्झना आउँछ?
ठ्याक्कै त के भनूँ, उहाँले गर्नुभएको ‘केयरिङ्ग’ याद आउँछ। आमाले गर्ने माया, ममता धेरै याद आउँछ।

हजुरको आमाको नाम बताइदिनुहोस् न !
शशिकला रेग्मी ।

आमाका लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ?
आमाको ऋण त तिर्न सकिँदैन कहिल्यै पनि। आमाको बाँकी जीवन चाहिं कसरी सहज, सुखी र खुसी होला भनेर प्रयास गर्छु। उहाँलाई केही कुराको कमि नहोस्।

आमाले पकाउनुभएको कुन खानेकुरा बढी ‘मिस’ गर्नुहुन्छ?
आमाले बनाएको सबै चिज मनपर्छ। त्यसमा पनि मकैको ढिँडो र आलुतामाको झोल सबैभन्दा बढी ‘मिस’ गर्छु।

आमाको लागि केही संदेश दिन चाहनुहुन्छ कि?
केही समय टाढा भएको छु, म। तर सधै संगै बस्ने हो। यो टाढा बसुन्जेल, आफ्नो ख्याल राख्नुहोला।

अन्त्यमा, अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई केही सुझाव दिन चाहनुहुन्छ कि?
अष्ट्रेलियामा राम्रै छ, तर त्यति धेरै आशा बोकेर पनि नआउनुहोला। राम्रोसंग बुझेर, आफ्नो क्षमता र चाहना पहिचान गरेर, सही विषय छनोट गरेर मात्र आउनुहोला।