‘अष्ट्रेलिया त स्वर्गै रै’छ, छोरीले उतै घर बनाएर बस्दा खुसी लागेको छ’

0
2874

हिमालयन कंगारुले केक टु नेपालसंगको सहकार्यमा विदेशमा रहेका नेपालीहरुका आफन्तसंग कुराकानी शुरु गरेको छ। जसमध्ये ‘आमाको माया’ स्तम्भ पनि एक हो। ‘आमाको माया’ अन्तर्गत आज हामीले बुटवल निवासी झबिकला तिवारीजीसंग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो ?
मेरी कान्छी छोरी अष्ट्रेलियामा छिन्। उनैले पठाएकी हुन्।

यसरी छोरीले पठाइदिनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
राम्रो लाग्यो। धेरै खुसी भएँ।

छोराछोरीसंग टाढा बस्नुपर्दा हजुरलाई कस्तो लाग्छ ?
नरमाइलो लाग्छ नि। तर उनीहरु त्यहाँ खुसी र सुखले बसेका छन्। छोरा-छोरीको खुसी देख्दा आमालाई पनि खुसी लाग्छ।

उहाँको कुन कुरा बढी याद आउँछ ?
सबैकुराको याद आउँछ। राम्री भएर बस्नुस् है आमा भन्छिन् , भिडियोमा कुरा गर्दा। चाडपर्वमा अझ धेरै सम्झना आउँछ।

घरमा कुन खानेकुरा पाक्दा उहाँलाई बढी सम्झनुहुन्छ ?
घरमा जुनसुकै मीठो खानेकुरा पाक्दा पनि याद आउँछ। त्यहाँ नपाइने केही छैन। चाहेको खाएर बसेका छन्। आमाको मनले त्यसो भन्दैन।

हजुर छोरी बसेको ठाउँमा जानुभएको छ ?
गएकी छु। गएर, एक वर्ष बसेर आएकी हूँ।

हजुरलाई कस्तो लाग्यो त अष्ट्रेलिया ?
अष्ट्रेलिया त स्वर्गै रै’छ। सबै सुख सुविधा रै’छ।

त्यहाँको के कुरा राम्रो लाग्यो ?
सबै राम्रो। सरकार पनि राम्रो।

त्यहाँको के कुरा नराम्रो लाग्यो ?
हामी चोखो खाना खाने मान्छेलाई अलि अप्ठ्यारो हुनेरै’छ। अरु सबैकुरा राम्रो।

छोरी नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल हुनुभए पनि राम्रो हुन्छ भन्ने लाग्छ ?
उहीं घर बनाएर बसेका छन्। सबै सुख-सुविधा छ। खुसी छन्। ठिकै छ। छोराछोरी खुसी देख्न पाए भयो आमालाई।

छोरीलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
राम्रोसंग बस्नु। आफ्नो ख्याल राख्नु। आशिर्वाद छ मेरो।