एएनएमसीको बैठक तथा न्यूजलेटर सार्वजनिक कार्यक्रम सम्पन्न

0
117

मेलबर्न। अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टर (एएनएमसी)को त्रैमासिक बैठक तथा न्यूजलेटर सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ। संस्थाका वर्तमान कार्यसमिति, संरक्षक तथा सल्लाहकारहरुको यो बैठक नयाँ कार्यसमिति चयन पछिको पहिलो बैठक हो।

कार्यक्रममा नयाँ कार्यसमितिले हाल गरिरहेका गतिविधिहरु तथा आगामी योजनाका बारेमा जानकारी गराइएको थियो। त्यसैगरी, संस्थाको हालको आर्थिक अवस्था र पछिल्लो खर्च विवरण समेत प्रस्तुत गरिएको थियो।

संस्थाको सर्वाङ्ग विकासका लागि विभिन्न उप-समिति पनि गठन गरिएको छ। ती समितिहरु अर्थात् अनुदान समिति, प्रविधि समिति, प्रचार-प्रसार समिति, प्लानिङ्ग पर्मिट समिति लगायत सम्पूर्ण समितिले कार्यक्रममा आफ्नो कार्य विवरण प्रस्तुत गरेका थिए।

कार्यक्रममा उपस्थित संरक्षक तथा सल्लाहकारहरुले नयाँ कार्यसमितिको प्रगति विवरण प्रशंसनीय रहेको भन्दै धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभएको थियो। त्यस्तै, उहाँहरुले संस्थाको कामलाई थप प्रभावकारी बनाउनका लागि सल्लाह-सुझाव समेत दिनुभएको थियो।

यसका साथै सामाजिक अगुवा तथा सफल व्यवसायी शेष घले, भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जन, संस्थाका भूतपूर्व अध्यक्ष रन्जन वैद्य, पूर्व अध्यक्ष डा चन्द्र दीपक पोखरेल र वर्तमान अध्यक्ष राजेश आचार्यले संयुक्त रुपमा न्यूज लेटर विमोचन गर्नुभएको थियो।

संस्थाका अध्यक्ष राजेश आचार्यले सम्पूर्णको उपस्थितिले कार्यसमितिलाई अगाडी बढ्न हौसला मिलेको बताउँदै सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो। त्यस्तै, उहाँले नेपाली सामुदायिक भवन निर्माण गर्ने संस्थाको लक्ष्यमा सम्पूर्ण नेपाली संस्था तथा समुदायको साथ रहने अपेक्षा समेत व्यक्त गर्नुभएको थियो।

अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टर (एएनएमसी) भिक्टोरियामा नेपाली सामुदायिक भवन निर्माणका लागि गठन गरिएको संस्था हो। मन्दिर र गुम्बा सहितको नेपाली परिचय बोकेको सामुदायिक भवन बनाउने यस संस्थाको उद्देश्य रहेको छ। यसका लागि एएनएमसीले जग्गा खरिद गरिसकेको छ र थप प्रक्रिया अगाडी बढाइरहेको छ।