छोरीका लागि मन्दिर निर्माण गरेको हूँ, नेपालको समेत परिचय थपिँदा थप खुसी छु: उमेश श्रेष्ठ

0
2312

अष्ट्रेलियाको भिक्टोरिया राज्य स्थित बेन्डिगोमा नेपाली शैलीको गणेश मन्दिर स्थापना भएको छ। यो मन्दिरलाई भिक्टोरिया राज्यकै पहिलो नेपाली शैलीको मन्दिर मानिएको छ। गणेश मन्दिर नेपालको पाटन पुर्ख्यौली घर भई हाल मेलबर्नमा बसोवास गर्दै आउनुभएका श्रेष्ठ दम्पत्ति उमेश श्रेष्ठ र जस्मिन श्रेष्ठले आफ्नी दिवंगत छोरीको नाममा निर्माण गर्नुभएको हो। ब्रेन क्यान्सरका कारण उहाँको छोरी ब्रिष्टि श्रेष्ठको सानो उमेरमा नै निधन भएको थियो।

अष्ट्रेलियामा इलेक्ट्रिकल इन्जिनियरको रुपमा कार्यरत उमेश श्रेष्ठजीसंग आज हामीले मन्दिर निर्माणको उहाँको उद्देश्य, निर्माण कार्य तथा संचालनमा आउँदासम्मको यात्रा र अबको योजनाको बारेमा कुराकानी गरेका छौं। प्रस्तुत छ उहाँसंग गरिएको संक्षिप्त कुराकानी :

मन्दिर निर्माणको सोंच हजुरमा कसरी आयो ?
मेरा दुई जना छोरीहरु हुन्। तीन वर्ष अगाडी, मेरी कान्छी छोरीलाई बालबालिकालाई हुने ब्रेन क्यान्सर भयो। त्यतिबेला उनी ६ वर्षकी मात्र थिइन्। त्यसपछि उनको निधन भयो। छोरीको सम्झनामा, उनको नाममा हामीले विभिन्न ठाउँमा डोनेसन दियौं। बाल अस्पतालमा समेत सहयोग गर्यौं। तर हामीलाई त्यो ‘कनेक्सन’ महसुस भएन। हामी हाम्री छोरी भौतिक रुपमा जीवित नभए पनि उसको आत्मा महसुस गर्न सकौं, उसको नाम जीवित रहोस् भन्ने चाहन्थ्यौं। त्यसैक्रममा हामीलाई पिस पार्कमा ठाउँ उपलब्ध भयो। संयोग कस्तो रह्यो भने, त्यही ठाउँमा छोरीको अस्तु राखिएको थियो। त्यहाँ विभिन्न धर्म तथा समुदायका मठ, मन्दिर, गुम्बा रहेका छन्। तर नेपाली शैलीमा बनेको मन्दिर भने थिएन। त्यसैले हामीलाई नेपाली शैलीको मन्दिर बनाउने प्रस्ताव आयो। छोरीको नामको कनेक्सन जुन महसुस गर्न चाहन्थ्यौं, त्यो हामीले यस कार्यबाट मिल्छ भन्ने महसुस गर्यौं। श्रीमती र मैले परिवार, आफन्त, साथीहरुसंग कुराहरु राख्यौं। उहाँहरुको पनि सकारात्मक प्रतिक्रिया आयो। त्यसपछि मन्दिर निर्माण गर्ने योजना बनायौं।

मन्दिर निर्माण गर्दा गणेश मन्दिर नै किन रोज्नुभयो ?
मन्दिर निर्माण गरेको ठाउँ कस्तो ठाउँमा छ भने, अरु मन्दिर, गुम्बा त्यो भन्दा पछाडी पर्छन्। अर्थात त्यो ठाउँ त्यहाँ मुखमा अर्थात् शुरुमा पर्छ। फेरी हिन्दु धर्म अनुसार, शुरुमा सधै गणेश भगवानको पूजा गरिन्छ। त्यसैले गणेश मन्दिर निर्माण गर्ने निर्णय गरेका हौँ।

मन्दिर निर्माणको लागि आर्थिक स्रोतको पनि कुरा आउँछ, त्यो आर्थिक स्रोत कसरी जुटाउन सफल हुनुभयो ?
मेरी छोरी बिरामी हुँदा उनले डिज्नेल्याण्ड जाने इच्छा व्यक्त गरेकी थिइन्। त्यतिबेला त्यो उनको सपना थियो। बिरामी छोरीको सपना पूरा होस् भनेर हामीलाई मेरो अफिसले ८ हजार डलर र रोटरी क्लबले ५ हजार डलर दिनुभएको थियो। तर छोरीलाई प्लेनमा लैजानको लागि डाक्टरहरुले स्वीकृति दिनुभएन। जसका कारण छोरीको त्यो सपना पूरा हुन पाएन। पछि मैले त्यो रकम फिर्ता दिंदा उहाँहरुले लिनुभएन र त्यो रकमबाट हामीहरुलाई घुम्न जान सुझाव दिनुभएन। तर हाम्रो मनले मानेन। र, त्यही रकम हामीले मन्दिर निर्माणमा लगायौं। तर यो रकम पनि पर्याप्त थिएन। नेपालमा भूकम्प गएको समयमा नेपाली हुनुका नाताले नेपालप्रतिको कर्तव्य महसुस गरेर बेन्डिगोमा बसोवास गर्ने नेपालीहरुले अस्-नेपाल फाउन्डेसन भन्ने संस्था स्थापना गरेका थियौं। भूकम्प पिडितको सहयोगका लागि संस्थामा दाताहरुबाट सहयोग आएको थियो। त्यो रकम हामीले नेपाल पठायौं, धादिङ्गमा प्राथमिक स्कुल निर्माणको लागि सहयोग गर्यौं र त्यसपछि पनि केही रकम बाँकी रहेको थियो। संस्थाका पदाधिकारीहरुले उक्त बाँकी रकम यो गणेश मन्दिर निर्माणको लागि प्रदान गर्ने निर्णय गर्नुभयो। त्यसैगरी अन्य दाताबाट पनि प्राप्त सहयोग जम्मा गरेर हामीले निर्माण कार्य अगाडी बढायौं।

निर्माण कार्य कत्तिको चुनौतीपूर्ण रह्यो ?
प्लानिङ पर्मिट प्राप्त भएपनि बिल्डिङ परमिटको लागि एक बर्ष समय लाग्यो। परमिट प्राप्त भएपछि निर्माणको तयारी गर्यौं। तर कोरोना महामारी आयो। जसका कारण निर्माण कार्य अबरुद्ध भयो। तर त्यो समयमा हामीले निर्माण कार्यलाई हाम्रो योजनालाई कसरी अझ राम्रो तथा प्रभावकारी बनाउन सकिन्छ भनेर गृहकार्य गर्ने मौका पायौं। सबैकुरा मिलायौं अनि त्यसपछिको योजना अनुरुप नै मन्दिर बन्यो र सोंचेकै दिनमा संचालनमा आयो। र, यो सबै श्रेय मैले सम्पूर्ण स्वयंसेवकलाई दिन चाहन्छु। १५ जना स्वयंसेवक ४० दिनसम्म निरन्तर खट्नुभयो। मैले त व्यवथापन मात्र गरेको हूँ। निर्माणको कार्य उहाँहरुका कारण सम्भव भएको हो। उहाँहरु हरेक दिन ८ बजेदेखि ४ बजेसम्म खट्नुभयो। नेपाली समुदाय मात्र नभई हरेक समुदायका व्यक्तिले सहयोग गर्नुभयो, अष्ट्रेलियन समेतले सहयोग गर्नुभयो। म उहाँहरु सबैप्रति कृतज्ञ छु।

यो मन्दिरलाई भिक्टोरियाकै पहिलो नेपाली शैलीको मन्दिर पनि भनिएको छ नि !
यहाँ मन्दिरहरु छन्। तर नेपाली शैलीका थिएनन्। पिस पार्कमा विभिन्न समुदायलाई प्रतिनिधित्व गर्ने कुराहरु देख्न सकिन्छ। हामीले नेपालको प्रतिनिधित्व होस्, हाम्री छोरीसंगै नेपालको पनि नाम आओस् भन्ने हेतुले नेपाली शैलीको मन्दिर निर्माण गरेका हौँ। यसका लागि मन्दिरको टुँडाल, मूर्ति, सिंह नेपालबाट ल्याइएको हो। त्यस्तै, सिड्नीबाट एक सहयोगी मनले मण्डला र पानस दान गर्नुभएको छ।

मन्दिर संचालनमा आउँदा कस्तो महसुस गर्नुभयो ?
अघिल्लो दिनसम्म मेरी छोरीलाई मैले बचाउन सकिन भन्ने सोंचले म पिरमा थिएँ। तर मन्दिर संचालनमा आउँदा मलाई अर्कै महसुस भयो। फुर्सदमा त्यहाँ जान्छु, सफा गर्छु, केहीछिन बस्छु। छोरीको समिपमा पुगेको महसुस हुन्छ। छोरीका लागि केही त गर्न सकें भन्ने भयो। र, त्यसमा पनि अझ नेपालको परिचय पनि जोडिंदा निकै आनन्द लागेको छ। त्यसैले यसमै अरु योजना पनि बनाएको छु।

अबको योजना के रहेको छ ?
मैले यो मन्दिर निर्माण तथा संचालनलाई पहिलो फेज भनेको छु। अब दोस्रो फेजको योजनामा छु। दोस्रो फेजमा मन्दिरको वरिपरि ढुंगेधारा निर्माण गर्नेछौं।

अन्त्यमा, केही भन्न चाहनुहुन्छ कि ?
स्वयंसेवकहरुको साथ बिना निर्माण कार्य सम्पन्न गर्न कठिन थियो। त्यसैले उहाँहरु सबैप्रति म सधै आभारी रहनेछु। साथ दिनुहुने संघसंस्था, व्यक्ति सम्पूर्णप्रति कृतज्ञ छु। यो मन्दिर सम्पूर्ण नेपाली समुदायको हो भन्न चाहन्छु। मन्दिर हरेक दिन बिहान ९:३० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्छ। सम्पूर्ण नेपाली दाजुभाई, दिदिबहिनी, आमाबुवाहरुलाई मन्दिरमा जानुहुन, दर्शन गर्नुहुन आग्रह गर्दछु। र, यो मन्दिर निर्माणको यात्राले मलाई के महसुस गराएको छ भने, मनले चाहेर आँट गर्ने हो भने कुनै पनि काम असम्भव भन्ने हुँदोरहेनछ।