मेलबर्नमा एनआरएनए अष्ट्रेलियाको कार्यालय स्थापना

0
107

मेलबर्न। मेलबर्नमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको कार्यालय स्थापना भएको छ। शनिबार एक औपचारिक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरिएको हो।

कार्यक्रममा उपस्थित अतिथिहरु संघीय सांसद पिटर खलील र एनआरएनका संरक्षक शेष घलेले संयुक्त रूपमा कार्यालयको उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै सांसद खलीलले एनआरएनए अष्ट्रेलियाको यो कदमले एनआरएनए अष्ट्रेलियालाई अझै बलियो र स्थापित बनाएको उल्लेख गर्दै यसले नेपाली समुदायको हित तथा समृद्धिको लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो। त्यस्तै, संरक्षक शेष घलेले एनआरएनए अष्ट्रेलियाको यो कदमले संस्थाको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कोबर्गमा रहेको कार्यालय उद्घाटनको क्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले आफ्नो कार्यकालमा यसलाई एउटा एजेन्डाको रुपमा अगाडी बढाएको उल्लेख गर्दै आफू अध्यक्ष रहेकै समयमा सपना पूरा भएको बताउनुभयो। उहाँले एनआरएनए अष्ट्रेलियाको आफ्नै कार्यालय भएपछि अष्ट्रेलियाका सरकारी निकायहरुले हेर्ने दृष्टिकोण फराकिलो हुने विश्वास समेत व्यक्त गर्नुभयो।

कार्यालय हालका लागि निश्चित समयमा मात्र खुल्नेछ र स्वयंसेवकहरु त्यस समयमा कार्यालयमा रहनेछन्। तर केही समय पश्चात कर्मचारी राखेर नै कार्यालय अगाडी बढाउने योजना रहेको अध्यक्ष कंडेलले जानकारी गराउनुभएको छ। उहाँका अनुसार, त्यसबापतको खर्च ५० प्रतिशत एनसिसीले र ५० प्रतिशत एससिसीले व्यहोर्नेछन्।

त्यस्तै, महासचिव डा ज्ञानेन्द्र रेग्मीले एनआरएन अस्ट्रेलियाको कार्यालय सञ्चालन गर्ने योजना पाइलट प्रोजेक्ट रहेको बताउनुभएको छ। महासचिव रेग्मीका अनुसार, सन् २०२१ भित्र कम्तीमा पनि सिड्नी, ब्रिसबेन, एडिलेड लगायत ठाउँमा कार्यालय खोल्ने एनआरएनए अष्ट्रेलियाको लक्ष्य रहेको छ।