कोरोना खोपलाई थप सर्वसुलभ बनाउन पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

0
160

डि–८ समूहका सदस्य राष्ट्रहरूलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोभिड-१९ को खोपलाई थप सर्वसुलभ बनाउन आग्रह गरेका छन्। बिहिबार सो समूहको आयोजित भर्चुअल सम्मेलनमा उनले सो आग्रह गरेका हुन्।  उनले हाल विश्वका कतिपय देशमा भ्याक्सिन राष्ट्रियता स्थापना गर्न खोजिएको जस्तो देखिएको पनि टिप्पणी दिएका छन्। 

विश्वमा अहिले भ्याक्सिन जस्तो अति आवश्यकताको वस्तुको उपलब्धताको बारेमा अझ बढी कुरा उठाउनुपर्ने अवस्था आएको प्रधानमन्त्री खानले सो भर्चुअल सम्मेलनमा बताएका थिए। 

उक्त समूहको १० औं सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री खानले कोभिड १९ का विरुद्धमा हाल विश्वमा प्रयोगमा आइरहेको खोपको उपलब्धतालाई अझ सरल र विश्वमा अति आवश्यकताको वस्तुका रुपमा सबैले पाउनुपर्ने बताएका छन् ।

यस कार्यका लागि डि ८ जस्तो समूह र यसका सबै सदस्य देशहरुले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन्। कोभिडका कारणले विश्वको अर्थतन्त्र गम्भीर अप्ठेरो अवस्थामा पुगेकाले त्यसलाई पुन प्राप्तिका लागि पनि यस समूहले भूमिका खेल्नुपर्ने उनले बताए ।

त्यसका अतिरिक्त विश्वका कतिपय देशमा यो खोपको उपलब्धता निकै कमजोर भएकोले यस समूहका सदस्यहरुले औषधि जस्तो विषय विश्वका सबै देशका नागरिकले पाउन सकुन् भनेर त्यस बारेमा लाग्नुपर्ने धारणा राखेका छन् ।

उनले विश्वमा हाल कोभिडका कारणले ह्रास भएको अर्थतन्त्रका कारण धेरै क्षेत्रमा प्रभाव पारिरहेको पनि बताए । त्यसका लागि पनि यो डि ८ समूहले ध्यान दिनुपर्ने बताएका छन् । डि ८ समूहमा बंगलादेश, पाकिस्तान, टर्की, इजिप्ट, इन्डोनेसिया, इरान, मलेसिया र नाइजेरिया सदस्य रहेका छन् । बिहीबार आयोजना गरिएको १०औँ सम्मेलनको आयोजक राष्ट्र बंगलादेश रहेको थियो । –सिन्ह्वा