एक्लै सिंगो पहाड थामेर पनि मुस्कुराइरहेकी मेरी आमा

0
432

कामना न्यौपाने

जब पानीका बाछिटाहरुले
घरको भित्तो पखाल्न थाल्थे,
आकाश जोड-जोडले गर्जिन थाल्थ्यो र
काला बादलहरु तछाड-मछाड गर्न थाल्थे
मेरो मुटु ढक्क फुलेर आउंथ्यो,
र आँखाभरि एउटा आकृति छाउँथ्यो

बिहान उठेर खेतमा पानी लगाउन
गएकी मेरी आमा
आली-आली हिंड्दै होलिन्,
केही छिन धैर्य गर न बाछिटाहरु !

मेरी आमा दाउराको भारि
बोक्ने तयारिमा होलिन्
केही छिन विश्राम लेऊ न बादलका टुक्राहरु ! तर के मान्थे र ती निर्दयीहरु !

मुस्कान सहित जब आमा घरभित्र पस्थीन्
मलाई उनी विजेता जस्तै लाग्थ्यो
बाछिटा र बादलको चुनौतीलाई
जितेकी विजेता !
म अवोधलाई के थाहा !
मेरी आमाले ती
बाछिटा र बादलभन्दा कैयौं ठूला चुनौतीको
सामना गरिरहेकी छिन्
सन्तान माथि छत नखसोस् भनेर
आफू खाँबो बनिरहेकी छिन्

आकाश र धर्तीले जब आफ्ना कर्तव्य बाँड्छन्
तब संसार गतिशील बन्छ
तर मेरी आमाले आकाश र धर्ती दुवै बनेर
परिवारलाई गती दिइन्

र, आकाश मात्र बनेर हुकुम चलाउने,
धर्तीको मर्म र जिम्मेवारी नबुझ्नेहरु
मेरी आमालाई अर्ती दिन्छन् , घर कसरि चलाउनुपर्छ
कागजपत्र त के , बाटोमा भेट्नेले मलाई सोध्छन् ,
‘ नानीको बुवाको नाम के ? थर के पर्छ?’

सधै , जताततै
आफ्नो नाम नखोजेर कर्तव्य पूरा गर्ने मेरी आमा
एक्लै सिंगो पहाड थामेर पनि
मुस्कुराइरहेकी मेरी आमा
समाजको नजरमा कमजोर मानिन्छिन्
कहिले उनको धर्तीको भूमिकामा
खोट लगाइन्छ
कहिले आकाशको भूमिकामा
औला उठाइन्छ
सायद त्यसैले कहिलेकाहीं आँखा टिलपिल पार्दै भन्ने गर्छिन् ,
‘तिमीहरुका बाबा जीवित भइदिएको भए …… !’