के देशमा काम गर्न लाज लागेर अष्ट्रेलिया, जापान जाने हो ?

0
2707

– बुद्धि तिमिल्सिना 

“युवा देशका खम्बा हुन् “, हामीले सधै सुन्ने गरेको भनाइ हो यो । तर त्यही खम्बा नै आफ्नो ठाऊ छोडेर हिडिदिन्छ भने कतिन्जेल अडिन सक्ला देश, यी पुराना खान्बाहरुको बलमा ? त्यसमाथि यी पुराना खम्बाहरुलाई काठका बाकसभित्र आएका बिदेशिएका सन्तानहरुको वियोगको आँसुको वर्षाले गलाइरहेका छन् । अनि कसरी अड़ेलान यी गलेका खम्बाहरु ? र, कसरी शीर उठाउन सक्ला यो देशले ?

केही नेपाली युवाका लागि बाध्यता बनेको विदेश बसाइ, अहिले रहरमा परिणत भैसकेको छ । आफ्नो नेपाली पहिचानको लागि डटेर हिड्ने नेपाली, आज दोस्रो, तेस्रो मुलुकको नागरिकता र पीआरका लागि हानथाप गर्दैछौं । विदेश बसाइ भित्रका वास्तविक कथाहरुलाई बेवास्ता गर्दै समुद्री तटमा सूर्यस्नान गर्ने सपना देख्दैछौं । कामको खोजीमा भन्दा बढी , नेपालमा हामी कामको स्तर नाप्नमा व्यस्त हुन्छौं । हामीलाई हाम्रो ईज्जत, स्वाभिमानले , कृषि गर्ने,पानीपुरी बेच्ने,कपडा सिलाएर बस्ने,जुत्ता सिलाएर बस्ने, सैलुन खोल्ने आदि काम गर्न दिदैन । तर बिदेशी भूमिमा हामी जस्तोसुकै काम गर्न सम्झौता गर्छौं । हो, रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ, बालबालिकाहरुले राम्रो शिक्षा प्राप्त गरिरहेका छन । तर त्यो शिक्षाको के अर्थ, जब भविष्यमा तपाई हामीजस्तै, उनीहरु भौतारिदै विदेशी भूमि सिंचित गर्न जानुपर्नेछ भने र अर्को देशको नागरिक बनि आफ्नो पहिचान गुमाउनुपर्नेछ भने । रेमिट्यान्सले ठड्याएका यी घरहरुको के अर्थ , जहाँ परिवार छिन्नभिन्न भएको छ भने । थुप्रै सपना देखेर हामीलाई जन्माइ,पढाइ,हुकाई दिएका बुढा भएका बाबु आमा साहराबिहीन जिन्दगी बाँचिरहेका छन् भने ।

नेपाललाई विभिन्न घट्ना र परिघटनाहरुले विकासको साटो झन् पछाडि धकेलिदियो र भूकम्पले झन् पीडा थपिदिया े। यो पीडा र पुनर्निर्माणको चुनौतीलाई युवाहरुले सामाजिक र आर्थिक समृद्धिको परिवर्तनको लागि केहि गर्न पाउने अवसरको रुपमा लिनुपर्छ ।

twgg-advertiseदाताहरुबाट पैसा संकलन गरेर , विकासको नाममा देशलाई परनिर्भरतातिर धकेलेर,उही विदेश जाने लर्को बढाउनु भन्दा, दिगो सामाजिक र आर्थिक विकासको लागि उद्यमशीलतामा जोड दिनुपर्छ । हामी सफल व्यक्तित्वहरु,व्यवसायीहरुको सुरुवातीका संघर्षका कथाहरु सुन्छौं, पढ्छौं र केहीछिनको लागि ताली पिटछौं । तर जब आफूमा आइपुग्छौं तब हतास हुन्छौं । समाधान भन्दा बढी समस्याहरुलाई प्राथमिकता दिन्छौं र क्षणिक आर्थिक सुरक्षित गन्तव्य रोज्छौं । यदि हामी अर्काको देशमा धसिएर तल्लो तहको काम गर्न तयार हुन सक्छौं भने,आफ्नै समुदायमा बसेर तल्लो तहबाट सानो उद्यमको सुरुवात किन हिच्किचाउँछौं ?

बिदेशी बसाईले सिकाएको छ कि, काम सानो या ठूलो हुँदैन । अनि कामको सम्मान गरिनुपर्छ । अहिलेका युवाहरु यो कुरालाई आत्मसात गर्दै थोरै लगानीमा सुरु गर्न सकिने उद्यममा लाग्ने हो भने त्यसले उद्यमशीलताको विकास गर्दै भावी सन्ततिहरुलाई एउटा मार्गदर्शन गर्न सक्छ ।

समस्या भनेको नै केहि गर्ने अवसर हो । अध्यारो थियो र त बत्तिको आविष्कार भयो । रहेका समस्याहरुलाई अगाडि सारेर विदेश बसाइ रोज्नुभन्दा, समस्या भित्र अवसर खोज्दै स्वदेशमै बसी भावी सन्ततीको लागि सुन्दर बगैंचा निर्माण गर्न सकिन्थ्यो कि ? यी पुराना खम्बाहरुलाई, काँध थापेर पालो दिन सकिन्थ्यो कि ? नेपाललाई हाम्रो युवा बलले माथि उचाल्न सकिन्थ्यो कि ?