‘अष्ट्रेलियामा पनि भेदभाव हुँदो रहेछ, नेपालीलाई छुट्टै व्यवहार गर्दा रहेछन्’

0
586

नेपालबाट स्टुडेन्ट भिसामा अष्ट्रेलिया आएका युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक’ शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको ब्रिसबेनमा बसोवास गरिरहनुभएकी अस्मिता महर्जनसंगको कुराकानी प्रस्तुत गरेका छौं।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
२०१९ को मेमा आएकी हूँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा चाहिं चितवन हो घर।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया आउनुभएको थियो ?
नर्सिङ्ग क्षेत्रमा छु। ब्याचलर अफ नर्सिङ्ग सकेपछि अष्ट्रेलिया आएकी थिएँ।

कुन विषय पढ्नको लागि अष्ट्रेलिया आउनुभएको थियो ?
पढ्नको लागि भन्दा पनि डिपेनडेन्ट भिसामा आएकी हूँ।

पढाइ तथा काम बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
घुमघाम अनि साथीहरुसंग भेटघाट।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो?
नेपालमा पनि काम गरिन्छ, त्यस्तै होला भन्ने लाग्छ। तर यहाँ आएपछि निकै गाह्रो हुन्छ। सोंचेजस्तो हुँदैन।

काम पाउन कत्तिको गाह्रो भयो?
शुरुमा धेरै गाह्रो भयो मलाई त। पाँच/६ महिनापछि बल्ल काम पाएँ। शुरुमा त्यतिबेला हामी सिड्नी बस्थ्यौं।

अष्ट्रेलियाका सकारात्मक पक्षहरु के-के हुन्?
कामलाई महत्व। अनि जोसुकै पनि आत्मनिर्भर हुन्छ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन्?
यहाँ पनि भेदभाव हुँदोरहेछ। नेपाली भन्ने चिनेपछि कति ठाउँमा छुट्टै किसिमको व्यवहार पाएँ। त्यो व्यवहार बुझेपछि नराम्रो लाग्दो रहेछ आफूलाई।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो?
पैसाको महत्व सिकायो। समय व्यवस्थापन गर्न सिकायो। अनि आत्मनिर्भर बनायो।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?
फेसबुक, इन्स्टामा यहाँ भएकाहरुले खाएको, घुमेको, रमाइलो गरेको देख्दा विद्यार्थीलाई अष्ट्रेलिया आउन मन लाग्छ। तर फेसबुक, इन्स्टामा देखेजस्तो यहाँ छैन। एकदमै मेहनत गर्नुपर्छ। दु:ख छ। त्यो दु:ख गर्न आफू तयार भएमात्र आउनुस् , रमाइलो देखेर नआउनुस्।

अष्ट्रेलिया आउने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ?
अष्ट्रेलिया गएपछि त छोराछोरीले पैसा कमाउँछन् भन्ने लाग्छ आमाबुवालाई। तर यहाँ त्यस्तो सजिलो छैन। त्यसैले धेरै आशा नराख्नुस्।