अष्ट्रेलिया आएका छोराछोरीले टन्न पैसा पठाउँछन् भन्ने आश नगर्नुस्

0
3707

नेपालबाट स्टुडेन्ट भिसामा अष्ट्रेलिया आएका युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक’ शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएकी इन्दिरा गुरुङसंगको कुराकानी प्रस्तुत गरेका छौं।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
२०१८ मा आएकी हूँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा घर चाहिं गोरखा हो।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया आउनुभएको थियो ?
नर्सिङ्ग पढ्थें।

कुन विषय पढ्नको लागि अष्ट्रेलिया आउनुभएको थियो ?
नर्सिङ्गमै करियर बनाउनको लागि आएकी हूँ। अब चाहिं ब्याचलर अफ चाइल्ड केयर मा पढाइ शुरु गर्दैछु। काम पनि चाइल्ड केयरमै गर्छु।

पढाइ तथा काम बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
घुमघाम अनि साथीहरुसंग भेटघाट।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो?
पहिले नै अरुको अनुभवहरु सुनेकी थिएँ। अनि त्यही अनुसार आफ्नो माइन्ड मेक-अप गरेकी थिएँ। त्यसैले त्यस्तो ठूलो फरक अनुभव भएन।

काम पाउन कत्तिको गाह्रो भयो?
आउनासाथ नै त काम पाइंदैन। तर खासै गाह्रो भएन।

अष्ट्रेलियाका सकारात्मक पक्षहरु के-के हुन्?
यहाँको शिक्षा राम्रो छ। सुविधा छ, नयाँ प्रविधि छ। करियर बनाउनको लागि अवसर छन्।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन्?
कहिलेकाहीं नसक्दा पनि आफैले काम गर्नुपर्छ। जस्तोसुकै भएपनि खान, बस्नको लागि काममा जानैपर्छ। पैसा नभई केही छैन।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो?
यहाँको एक्लो जीवनले परिवारको महत्व बुझाउँछ। अनि संघर्ष गर्न, समय व्यवस्थापन गर्न सिकिन्छ। आत्मनिर्भर बनिन्छ।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?
धेरै आशा बोकेर नआउनुस्। संघर्ष गर्नको लागि आफ्नो दिमागलाई तयार बनाएर आउनुस्।

अष्ट्रेलिया आउने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ?
अष्ट्रेलिया आएका छोराछोरीले टन्न पैसा पठाउँछन् भन्ने नसोंच्नुस्। विद्यार्थीहरु यहाँ कडा मेहनत गरिरहेका हुन्छन्, तनाव झेलिरहेका हुन्छन्। यहाँ विद्यार्थीलाई निकै गाह्रो छ।