अष्ट्रेलियाको मेलबर्नमा क्रिकेट कार्निभल सम्पन्न, हिमालयन क्लबले जित्यो द हन्ड्रेडको उपाधि

0
57

मेलबर्न। अष्ट्रेलियाको मेलबर्न हिमालयन क्रिकेट कार्निभल २०२१ सम्पन्न भएको छ। गत अप्रिल २ शुक्रबारदेखि अप्रिल ४ सम्म चलेको क्रिकेट कार्निभल क्रिकेट भिक्टोरिया अन्तर्गत रजिस्टर भएको पहिलो नेपाली क्रिकेट क्लब हिमालयन क्रिकेट क्लबले आयोजना गरेको हो।

क्रिकेट कार्निभलमा बालबालिकाको वुलवर्थ क्रिकेट ब्लास्ट सेसन, महिलाहरुका लागि ‘come and try ‘ सेसन र सिनियर टेप बल प्रतिस्पर्धा संगै द हन्ड्रेड क्रिकेट प्रतियोगिता रहेका थिए।

द हन्ड्रेड टुर्नामेन्टमा द हिमालयन क्लब, एक्स्पर्ट सगरमाथा ब्लुज, रोयल राइनोज क्रिकेट क्लब, माभेन क्रिकेट क्लब, नार्रे किंग्स, गोर्खाली क्रिकेट क्लब र एभरेस्ट लायन्स गरी आठ टिम सहभागी भएका थिए। जसमध्ये सेमिफानलमा एक्स्पर्ट सगरमाथा ब्लुज र माभेन क्रिकेट क्लब तथा द हिमालयन क्रिकेट क्लब र रोयल राइनोज क्रिकेट बीच प्रतिस्पर्धा भएको थियो। ९ बजेदेखि शुरु भएको पहिलो खेलमा माभेन क्रिकेट क्लबलाई एक्स्पर्ट सगरमाथा ब्लुजले पराजित गर्यो भने दोस्रो खेलमा रोयल राइनोजलाई पछि पार्दै हिमालयन क्लब फाइनलमा प्रवेश गर्यो।

फाइनल खेलमा हिमालयन क्लबले टस जितेर ब्याटिङ्ग गरेको थियो। जसमा १०० बलमा १८१ रन बनाउँदै एक्स्पर्ट सगरमाथा ब्लुज समक्ष १८२ रनको लक्ष्य प्रस्तुत गर्यो। जवाफी ब्याटिंगमा एक्स्पर्ट सगरमाथा ब्लुजले १७५ रन मात्र बनाउन सफल रह्यो। फलस्वरुप: ६ रनले जित हासिल गर्दै आयोजक क्लब हिमालयनले उपाधि जित्न सफल भयो। उक्त टुर्नामेन्टमा एक्स्पर्ट सगरमाथा ब्लुजका आशिष जीसी उत्कृष्ट ब्याट्सम्यान घोषित भए। त्यस्तै, उत्कृष्ट बलर रोयल राइनोजका युत्सव पोखरेल र उत्कृष्ट विकेटकिपर हिमालयन क्लबका रोबिन महर्जन बन्न सफल भए।

रोमाञ्चक प्रतिस्पर्धा बीच सम्पन्न फाइनल खेलमा हिमालयन क्लबका सरोज क्षेत्री प्लेयर अफ द म्याच घोषित भए। प्लेयर अफ द सिरिज भने रोयल राइनोज क्रिकेट क्लबका धिरज दासले हात पारे। त्यसैगरी, रोयल राइनोजका कुडुस खानलाई टुर्नामेन्टभरका रोमाञ्चक खेलाडी घोषित गर्दै अम्पायर सन्तोष बस्ताकोटीले एक सय डलर नगर पुरस्कार प्रदान गरेका थिए।

कार्निभल समापन कार्यक्रममा उपस्थिति अतिथिहरुले सम्पूर्ण विजेतालाई पुरस्कार तथा मेडल प्रदान गर्नुभएको थियो। कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेल, न्याभका अध्यक्ष राम गुरुङ, क्रिकेट भिक्टोरियाका प्रतिनिधि रोहेल अख्तर, एनआरएनए भिक्टोरियाका संयोजक प्रेम कंडेल, इपिंग वुलर्ट नेपाली समुदायका अध्यक्ष रोशन उपाध्याय, साउथ एसियन कम्युनिटी लिंक ग्रुपबाट हरि पाण्डे, हिमालयन क्लबका पूर्व अध्यक्ष भोला गिरि, कार्निभलको मूख्य प्रायोजक संस्था कंडेल कन्सल्टेन्सीका प्रमुख राज कंडेल अतिथिको रुपमा सहभागी हुनुभएको थियो।

कार्निभलको सफलताका लागि भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद दिंदै आयोजक संस्था द हिमालयन क्रिकेट क्लबका पब्लिक अफिसर तारा गैरे भन्नुहुन्छ, ” पहिलो पटक आयोजना गरिएको द हन्ड्रेड प्रतियोगिता सहितको क्रिकेट कार्निभल व्यवस्थित रुपले सफलतापूर्वक सम्पन्न भएकोमा हामी निकै खुसी छौं। प्रायोजक संस्थाहरु, सहयोगी संस्थाहरु, खेलाडी, सहभागी, शुभेच्छुक सम्पूर्णको यो साथले हामीलाई दोस्रो क्रिकेट कार्निभल आयोजना गर्ने हौसला मिलेको छ। र, हामी अझ सहभागीमूलक, व्यवस्थित र भव्य कार्यक्रम लिएर आउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं “।