‘नेपालमा रहँदा केही नगर्ने विद्यार्थी अष्ट्रेलिया आएपछि मेहनती बन्छन्’

0
150

नेपालबाट स्टुडेन्ट भिसामा अष्ट्रेलिया आएका युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक’ शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएकी सामना त्रिपाठीसंगको कुराकानी प्रस्तुत गरेका छौं।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
४ वर्ष भयो। २०१७ मा आएकी हूँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
काठमाडौंको कालोपुलमा हो।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया आउनुभएको थियो ?
ब्याचलर लेभल सकेर अष्ट्रेलिया आएकी हूँ।

कुन विषय पढ्नको लागि अष्ट्रेलिया आउनुभएको थियो ?
नर्सिङ्ग पढ्नको लागि। अहिले वेस्टर्न सिड्नी युनिभर्सिटीमा पढ्दैछु।

पढाइ तथा काम बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
ट्राभल गर्न एकदमै मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो?
सोंचेको जस्तो हुँदैन। यहाँ एकदमै व्यस्त जीवनशैली हुन्छ। आफ्नै लागि पनि समय निकाल्न भ्याइदैन।

काम पाउन कत्तिको गाह्रो भयो?
शुरुमा गाह्रो नै भयो। तर आफन्तहरुको सहयोगले २/३ हप्तामा पाएँ। आफन्त हुने हो भने अलि सजिलो हुनेरहेछ।

अष्ट्रेलियाका सकारात्मक पक्षहरु के-के हुन्?
विकसित देश हो, त्यसैले भौतिक सुविधा छ। अनि तलब पनि राम्रो हुन्छ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन्?
पढाइ, काम गर्दागर्दै यति व्यस्त भइन्छ कि, सुत्न पनि पाइंदैन। अनि त्यसमा पनि परिवारबाट टाढा भइन्छ। एक्लो महसुस हुन्छ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो?
समयको महत्वको बारेमा सिकायो। अनि आत्मनिर्भर बन्न सिकायो।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?
धेरै आशा बोकेर नआउनुस्। यहाँ आइसकेपछि अवसर पनि छन्। करियर बनाउन सकिन्छ। तर नेपालमा बसेर सोंचेको जस्तो सजिलो हुँदैन।

अष्ट्रेलिया आउने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ?
म ब्याचलर लेभल सकेर अष्ट्रेलिया आएकी हूँ। धेरै विद्यार्थी १२ पास गरेपछि आउँछन्। अनि यहाँ काम, पढाइ गर्दा दु:ख हुन्छ। फी अनि खाने, बस्ने खर्च महँगो हुन्छ। त्यसमा पनि कति विद्यार्थीले पैसा बचाएर घरमा पठाइरहेका हुन्छन्। छोराछोरीलाई दबाब नदिनुस् , उनीहरुको दु:ख बुझ्दिनुस्। अनि छोराछोरीलाई अष्ट्रेलिया पठाउँदा ऊ मानसिक रुपले परिपक्क भएपछि मात्र पठाउनुस्।

अन्त्यमा, केही भन्न चाहनुहुन्छ कि ?
नेपालमा रहँदा विद्यार्थीहरु केही काम नगरी बस्ने बानी हुन्छ। तर यहाँ आएपछि मेहनत गर्न सिक्छन् । आफ्नो खर्च आफै उठाउँछन्, आत्मनिर्भर बन्छन्।