कविता: तिमी आमाको छातिमा कुल्चिएर ढुंगालाई ढोग्दैछौ

0
394
  • सुवास लुइँटेल ( ब्रिसबेन, अष्ट्रेलिया )

तिमी बाँध भत्किएकोमा नदीलाई दोष दिदैछौ
छोरी जन्मिएकोमा स्वास्नीलाई
पागल भएकोमा प्रेमलाई
तिमी आमाको छातिमा कुल्चिएर ढुंगालाई ढोग्दैछौ

संसार हाक्ने त्यो युवा जोस कहाँ गयो
सन्तानको भविष्य
बाबुआमाको आशा
तिमी श्रीमतीको प्रेमलाई कुल्चिएर वेश्यालाई चुम्दैछौ

सपनाहरू सबै पुरा हुन्नन्
ती डरलाग्दा भिरहरू
त्यो जीवनभरको संघर्ष
तिमी युद्ध नलडि पराजयको आँशु झार्दैछौ

वास्तविकता तितो हुन्छ तर स्विकार्नुपर्छ
फोहोर गल्लिहरू
मनभित्र रहेका पीडाहरू
तिमी बेहोशी जीवनको लागि रक्सिलाई दोष दिदैछौ

तिमी कुरा काटेकोमा समाजलाई थुक्दैछौ
हारेकोमा प्रतियोगितालाई
रोएकोमा आँशुलाई
तिमी जन्मिएकोमा बाबुआमालाई धिक्कार्दैछौ

सक्छौ गर, सक्दैनौ छोड
पछाडी लामो लाईन भइसक्यो
बाटो अल्झाएर नबस
तिमी अवसर मागेकोमा नयाँ पुस्तालाई गालि गर्दैछौ !