‘अष्ट्रेलियामा नेपालीले नेपालीलाई नै ठगेको देख्दा नराम्रो लाग्छ, आफ्नै देशका मान्छेलाई लुट्छन्’

0
2683

नेपालबाट स्टुडेन्ट भिसामा अष्ट्रेलिया आएका युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक’ शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहनुभएकी विलक्षणा सिंहसंगको कुराकानी प्रस्तुत गरेका छौं।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
२०२० को फेब्रुअरीमा आएकी हूँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
काठमाडौंको बबरमहलमा हो।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया आउनुभएको थियो ?
माइक्रोबायलोजीमा ब्याचलर गर्दै थिएँ।

कुन विषय पढ्नको लागि अष्ट्रेलिया आउनुभएको थियो ?
नर्सिङ्ग पढ्नको लागि। अहिले अष्ट्रेलियन क्याथलिक युनिभर्सिटीमा पढ्दै छु।

पढाइ तथा काम बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
घुमघाम अनि सपिङ्ग। तर अहिले चाहिं काम र पढाइको एकोहोरो रुटिन हुने हुनाले खाली समयमा पनि घरमै बस्न मन लाग्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो?
म पहिले पनि विदेश बसेको हुनाले यस्तो हुन सक्छ भन्ने आइडिया पहिले नै थियो। कडा मेहनत गर्नुपर्छ भन्ने योजनाका साथ नै म यहाँ आएको थिएँ।

काम पाउन कत्तिको गाह्रो भयो?
म आउँदा कोरोनाको डर शुरु भइसकेको थियो। तर पनि काम पाएँ। दुई हप्ता यत्तिकै घरमा बसें। त्यसपछि एच एण्ड एममा काम गर्ने अवसर पाएँ। त्यसपछि त्यहाँ तीन महिना जति काम गरेपछि एज्ड केयरमा काम गर्न थालें।

अष्ट्रेलियाका सकारात्मक पक्षहरु के-के हुन्?
विकसित देश भएकाले यहाँ नयाँ-नयाँ प्रविधि, नयाँ-नयाँ कामका तरिका सिक्न पाइन्छ। आत्मनिर्भर बनिन्छ। अनि स्वतन्त्रता पनि मिल्छ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन्?
स्टुडेन्ट भिसामा आएपछि काम र पढाइको एकोहोरो रुटिन हुन्छ, अनि दिक्दारी हुन्छ। नेपालीले नेपालीलाई नै ठगिरहेका हुन्छन्। आफ्नै देशका मान्छेलाई लुट्न खोज्छन्।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो?
आत्मनिर्भर हुन सिकायो। व्यक्तित्व विकासमा सहयोग पुर्यायो।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?
लहडमा लागेर नआउनुस्। एकदमै सोंच विचार गरेर, राम्रोसंग बुझेर मात्र आउनुस्। मानसिक तथा भावनात्मक रुपमा आफू परिपक्क हुनुस्।

अष्ट्रेलिया आउने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ?
आफ्नो घाँटी हेरेर हाड निल्नुपर्छ। घर बन्धकी राखेर ऋण लिएर छोराछोरीलाई अष्ट्रेलिया नपठाउनुस्। यहाँ पनि दु:ख छ। छोराछोरीले अष्ट्रेलिया गएपछि टन्न पैसा पठाउँछन् भन्ने नसोंच्नुस्।

अन्त्यमा, केही भन्न चाहनुहुन्छ कि ?
जे पनि काम गर्छु भन्ने नसोंच्नुहोला, किनकि यहाँ नेपाली विद्यार्थीलाई नेपाली मान्छेहरुले नै थोरै पैसामा धेरै काम लगाउने गर्छन्। अरुले तपाईंलाई प्रयोग गर्न सक्छन् , त्यसमा सजग रहनुहोस्। र, यदि आफ्नो लक्ष्यमा अडिग रहनुभयो भने यहाँ धेरै अवसर भेट्न सक्नुहुन्छ।