हेटौडामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ३ घाइते

0
151

हेटौडा। हेटौंडामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। आइतबार राति पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोड भटनदेवी मन्दिर मोडमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने वर्ष १७ को सगुन रुम्बा रहेको जानकारी दिएका छन्। हेटौंडाको बुद्ध चोकबाट कर्रातर्फ जाँदै गरेको ना ४९ प ६२२३ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आउँदै गरेको ना ४१ प ६४३६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकी रुम्बाको उपचारका क्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रवक्ता रिमालले बताएका छन् ।

दुर्घटनामा अन्य तिन जना घाइते भएका छन् । घाइते हुनेमा विज्ञान रुम्बा, विजल लामा र विक्रम लामा रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका बिजल र विक्रमको प्रहरीको निगरानीमा हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। अर्का सामान्य घाइते विज्ञानलाई भने उपचारपछि प्रहरी नियन्त्रणमा राखिएको छ।

तीव्र गतिमा रहेको दुबै मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।