गरिबी कसरी हट्छ ? विकास कसरी हुन्छ ?

0
35

-साकार लामा

कुनै मुलुक धनी र कुनै मुलुक गरीब कसरी हुन्छन् वा विकासको मार्गमा कोही किन यति अगाडि र कोही पछाडि ? भनेर हेर्न उनीहरूले तय गरेको बाटो (प्रणाली) हेर्नुपर्छ। गरिबी कसरी हट्छ, विकास कसरी हुन्छ ? भन्ने खोजी गर्दै अमेरिकी अर्थशास्त्री जेफ्री साचले The end of Poverty भन्ने निकै उपयोगी पुस्तक लेखेका छन्। यसको एउटा सानो उदाहरणमा किसानको जीवनस्तर कसरी बढ्छ वा कसरी घट्छ ? भन्ने विषयमा निकै राम्रो Comparative उदाहरण दिइएको छ।

मानौं, एक ग्रामीण कृषक परिवार जसमा श्रीमान श्रीमति, दुई छोरा, दुई छोरी गरी ६ सदस्य छन्। यो परिवारसँग आफ्नो सानो छाप्रो घरसहित दुई हेक्टर (३ बिघा) जमिन हुन्छ, जसमा उनीहरूले मकै खेती गर्छन्। यो परिवार निकै गरीब हुन्छ, किसानी बाहेक वर्षभरी उनीहरुले नगद केही पनि कमाउँदैनन् र जति मकै खेती गर्छन् त्यति खान्छन् । बच्चाहरु दिनभर दाउरा खोज्ने, कुवाबाट पानी ल्याउने लगायका घरेलु कामहरु गर्छन् ।

यो परिवारले प्रति हेक्टर दुई टनका दरले कूल चार टन मकै उत्पादन गर्छ। उनीहरूको वार्षिक आय गणना गर्दा Statisician ले मानौ स्थानीय मूल्य १ सय ५० डलर प्रति टनका दरले राख्दा कूल परिवार आय– ६ सय डलर निकाल्छ । यसरी प्रति व्यक्ति आय डलर प्रति व्यक्ति (६ सदस्यको परिवार) निस्कन्छ र सरकारले यसरी देशभरका आयहरु जोडी GNP निकाल्छ।

यो परिवारको आय (Income per Capita) अर्को वर्षदेखि चार तरिका ले वृद्धि गर्ने सकिन्छ–

१ बचत

यो परिवारले ४ टन मकै मघ्ये ३ टन मात्रै खान्छन् र एक टन बचत गर्छन्। उक्त १ टन मकै बजार मूल्य १ सय ५० डलर प्रति टनका हिसाबले बिक्री गर्छन्। उक्त बचत रकम हाँस, कुखुरा, भैसी वा यस्तै पशुचौपायमा लगानी गर्दा उनीहरूको थप आयको स्रोत खुल्छ। यसरी दूध र मासु बेची वा अन्य केही गरी उक्त लगानीले Capital Accumulation हुन्छ। र यसरी बचतले यो परिवारको उत्पादकत्व वृद्धि हुन्छ।

२ व्यापार

अर्कै परिदृश्यमा, उक्त परिवारले उनीहरुको जमिन र वातावरण Vanilla beans (एक प्रकारको नगदे बाली) को लागि उपयुक्त छ र त्यसबाट मनग्गे आम्दानी हुने कसैबाट थाहा पाउँछन्। त्यसैले उनीहरुले मकैको सट्टा त्यहाँ नगदे बाली लगाउँछन् र त्यसको खेती बिक्री गरी ८ सय डलर कमाउँछन्। त्यस मध्येको ६ डलर खाद्यान्न खरिद गर्छन्। यसरी एक जनाको सफलताले त्यो भेगमा नगदे बाली भ्यानिला लगाउँने किसानहरु बढ्दै जान्छन्।किसान बढ्दै गर्दा भ्यानिलाको व्यापार गर्ने नयाँ व्यापारहरु खुल्छन् । ढुवानी गर्ने, भण्डार गर्ने जस्ता विशिष्टिकृत संस्थाहरु खुल्छन्। यस आय वृद्धिको प्रक्रियाले बजारलाई विस्तार गर्नुका साथै व्यापार(पेशालाई झनै विशिष्टिकृत गर्दै लैजान्छ। दीर्घकालमा त्यसै प्रक्रियाले त्यस क्षेत्रमा व्यापारिक गतिविधिहरु बढदै जान्छन् साथै पूर्वाधार विकास हुन्छ र पेशा र श्रम विशिष्टिकृत हुँदै जान्छन्।

३ प्रविघि

मानौं त्यो क्षेत्रमा सरकारले किसानहरुलाई आधुनिक खेती प्रणालीको तालिम दिन्छ। उत्पादन बढ्ने मलहरु दिन्छ, उन्नत जातका बिउहरु दिन्छ। किरा नलाग्ने, चाँडै फल्ने र माटोको गुणस्तर बढ्दा घेरै अन्न फल्छ। मानौ, त्यहीँ खेतमा ३ टन प्रति हेक्टर उत्पादन हुदा ६ टन उत्पादन हुन्छ। र, १ सय ५० डलर प्रति टनले ९ सय डलर आम्दानी हुन्छ। यसरी उनीहरूको प्रति व्यक्ति आय एक सय डलरबाट १ सय ५० हुन पुग्छ।

४‍ स्रोत वृद्धि

राज्यले नयाँ आधुनिक र वैज्ञानिक कृषि नीति ल्याई किसानका लागि थप नयाँ र उर्वर जमिनहरु खेती गर्न दिने व्यवस्था ल्याउँछ। उक्त परिवार नयाँ उर्वर र साविक भन्दा धेरै जमिन भएको ठाउँमा जान्छन् र त्यहाँ गई उत्पादकत्व बढाउँछन्। यसरी वर्षभरी बाँझो राखिएको जमिनमा राज्यको निहीत किसानहरुले नयाँ ठाउँमा खेती गर्ने अवसर प्राप्त गर्छन् र समग्र देशकै कृषि उत्पादकत्व बढ्छ। आय वृद्धि हुँदा र भोकमरी हट्दै गर्दा त्यस नयाँ क्षेत्रका हरेक परिवारको कृषि उत्पादन तीन गुणाले बढ्छ।

संसारका विकसित देशहरु यिनै माथिका चार बाटो हुँदै समृद्धिको यात्रा तय गरेका हुन्। गफ गरेर, पूजा गरेर कुनै देश बनेको छ र ? देशको GDP Per capita वृद्धि हुन यिनै चार प्रक्रियाको संयोजन हुनपर्छ। बचत, पूजी सञ्चय, विशिष्टिकृत पेशा प्रणाली र व्यापार, प्रविधिको प्रयोग र प्रति व्यक्ति प्राकृतिक स्रोतको वृद्धि नै आर्थिक फड्को मार्ग हो। यो एउटा परिवारको जीवन उकास्ने प्रक्रिया हो र यहीँ प्रक्रियाले हजारौं र लाखौं परिवारलाई जोड्न सक्दा समग्र आर्थिक वृद्धि हासिल हुनसक्छ। तर यसका लागि यी सबैलाई बजारसँग जोड्दै राज्य–निजीक्षेत्र र सरोकारवाला सबैको सामुहिक प्रयाससहित सही सार्वजनिक नीति र लगानी गर्नुपर्छ।

यी कामहरु गर्न नसक्दा हामी उन्नति तर्फ होइन अधोगतितर्फ लाग्छौं। प्रविधिलाई निरुत्साहित गर्ने, व्यापारलाई निषेध गर्ने, स्रोतको दोहन गर्ने र जनसंख्या मात्रै बढाउने लगायतका कामले हामीलाई विनाशको बाटो तर्फ लैजान्छ।

नेपालमा इतिहासकै सबैभन्दा शक्तिशाली निर्वाचित सरकार छ। विश्वभर कम्युनिष्ट सत्ताहरु ढली रहँदा नेपालमा दुई तिहाइको कम्युनिष्ट सरकार छ। तर, जनताले यति धेरै आशा गरेको कम्युनिष्ट सरकार सानोतिनो कुराहरुमा अल्झिरहेको छ। कम्युनिष्टलाई सत्ता हासिल गर्न आउने तर सत्ता सञ्चालन गर्ने नआउने आरोप लाग्दै आएको छ। नेपालको इतिहासकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीलाई पनि त्यहीँ आरोप लाग्ने देखिएको छ। चुनावी–घोषणापत्रदेखि भाषणहरुमा रातारात परिवर्तन ल्याईदिन्छु (विकासको मूल फुटाइदिन्छु ) भन्नेहरुले यो तीन वर्षको शासनमा गुणात्मक रुपमा केही पनि काम गर्ने सकेका छैनन्। आसेपासे पोस्ने, नातावाद–कृपावाद लाद्ने, पदोलुपता देखाउने जस्ता दलाल पूँजीवादीहरुका हर्कत कम्युनिष्टहरुले नै गरिरहेका छन्। कुर्सी चढ्दा रातो झन्डा बोक्नेहरु केवल आवरणमा मात्रै कम्युनिष्ट भएकाले यथार्थमा रजगज माफिया र दलालहरुले मात्रै गरिरहेका छन्।

सत्ता प्राप्तिपूर्व कम्युनिष्टहरु सधैं पूँजीवादी आर्थिक प्रणालीको विरोध गर्छन्। पूँजीवाद पनि आफैले आवधिक रुपमा निम्त्याउने संकटहरुले आफै ढल्ने अवस्था ल्याउँछ। पूँजीवादले निम्त्याएका संकटहरुका विरुद्ध आम सर्वहारा जनतालाई संगठन र विचारले जागरुक र एकीकृत बनाई आन्दोलित बनाउने काम कम्युनिष्ट पार्टीहरुले नै गर्छन्। र, आन्दोलनको जगमा कम्युनिष्टहरु सत्तामा पुग्छन् । सत्ता प्राप्त हुने बितिकै कम्युनिष्ट नेताका समस्याहरु शुरु हुन्छन्। सुरुवातदेखि नै कम्युनिष्ट सत्ता पूँजीवादी आर्थिक प्रणालीलाई प्रहार गर्छन् तर त्यसको वैकल्पिक आर्थिक प्रणाली दिन सक्दैनन्। विश्व बजारसँगको सम्बन्ध बन्द गर्ने, प्रविधिलाई रोक्ने जस्ता रुढीबादी कामहरू गर्छन्।

आज विश्व कम्युनिष्ट आन्दोलनको इतिहस हेर्न हो भने कम्युनिष्टहरु सबैभन्दा ठूलो समस्या पूँजीवादी आर्थिक प्रणालीको विकल्प दिन नसक्नु नै हो। यसको सबैभन्दा निकट हल कम्युनिष्ट नेताहरुमा लेनिनले भेट्नु भएको थियो। लेनिनको सबैभन्दा विशेष गुण उहाँ स्पष्ट र तार्किक हुनुहुन्थ्यो। अझ भन्नुपर्दा लेनिन कहिले रुढीबादी जडताको बन्दी थिएनन् र कन्भिक्सन नै उनको मुख्य गुण थियो। पूँजीवादी प्रणालीको विकल्पमा लेनिनले समाजवादी अर्थिक प्रणाली अघि सार्नु भएको थियो जस्मा केन्द्रीय योजनाको अवधारणा, वैज्ञानिक औद्योगिक र साझा कृषि प्रणाली लगायतका राम्रो नीतिहरु थिए।अमेरिकी फोर्डिजम जस्ता प्रविधिहरुलाई स्वागत गर्ने लेनिन जडदाबाट मुक्त हुने गोरेटो बनाउँदै हुनुहुन्थ्यो। तर,लेनिनसँग सिक्ने र थिति बसाल्ने समय निकै कम भयो जुन विश्व कम्युनिष्ट आन्दोलनकै लागि सबैभन्दा ठूलो सेट–ब्याक बन्यो।

नेपालका सत्तासीन र सत्ता बाहिरका कम्युनिष्टहरुले पूँजीवाद सम्बन्धीको बुझाई निकै कमजोर छ। पूँजीवाद विरुद्धको लडाइँ बलशाली पूँजीवादलाई राम्रोसँग नबुझी जित्न सकिँदैन। मुखले समाजवाद, कर्मले राम र हरामवादी बन्दा कम्युनिष्टहरु चरम दक्षिणपन्थी बन्छन्। हामीले वैज्ञानिक खुल्ला मस्तिष्कको प्रयोग गरी वैकल्पिक आर्थिक प्रणालीको बारेमा बहस शुरु गर्नैपर्छ।दलाल र व्यापारीको अन्तर, उद्योगपति र व्यापारीको अन्तर पग्लनु पर्छ। देशको आर्थिक प्रणालीलाई उत्पादनमुखी बनाई अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा योग्य बनाउनपर्छ। यो सूचना–प्रविधिको युगमा हामी व्यक्ति र वादका नाममा दास भइरहँदा हाम्रो उन्नति होइन, अवनति मात्रै हुन्छ। (जनता समाचार डटकमबाट साभार)