‘अष्ट्रेलिया आउन पाउने भन्दैमा झुटो या चाँडो विवाह नगर्नुस्, दलदलमा फसिन्छ’

0
1260

नेपालबाट स्टुडेन्ट भिसामा अष्ट्रेलिया आएका युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक’ शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका दिवस पोखरेलसंगको कुराकानी प्रस्तुत गरेका छौं।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
दुई वर्ष भयो।

नेपालमा तपाईंको घर कहाँ हो ?
काठमाडौं, चाबहिलमा ।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया आउनुभएको थियो ?
१२ पास गरेपछि आएको हूँ।

कुन विषय पढ्नको लागि अष्ट्रेलिया आउनुभएको थियो ?
कमर्सियल कुकरी। अहिले वेस्टर्न सिड्नी युनिभर्सिटीमा डिप्लोमा लेभलमा पढ्दैछु।

पढाइ तथा काम बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
गितार बजाउँछु। अनि साथीहरुसंग भेटघाट, घुमघाम त्यहि हो।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो?
नेपालमा हुँदा सजिलो लाग्छ। तर यहाँ आइसकेपछि परिवारबाट टाढा, एक्लो भइने हुँदा गाह्रो हुन्छ।

काम पाउन कत्तिको गाह्रो भयो?
काम नपाइने भन्ने हुँदैन। तर शुरुमा काम खोज्ने तरिका थाहा नहुने, चिनजानका मान्छे नहुने हुँदा गाह्रो हुन्छ।

अष्ट्रेलियाका सकारात्मक पक्षहरु के-के हुन्?
यहाँ स्वतन्त्रता हुन्छ। अर्को कुरा, मेहनत गर्ने र लगनशील हुने हो भने यहाँ अवसर धेरै छन् र सफलता पनि मिल्छ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन्?
नेपालमा बस्दा घरपरिवारले नै हाम्रो लागि सबै गरिरहनुभएको हुन्छ। तर यहाँ आइसकेपछि काम खोज्ने अनि काम गर्ने गर्दा कस्तो-कस्तो लाग्छ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो?
समग्रमा भन्दा, अष्ट्रेलियाले मलाई आत्मनिर्भर हुन र कडा मेहनत गर्न सिकायो।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?
अष्ट्रेलिया आइसकेका व्यक्तिहरुलाई यहाँको बारेमा राम्रोसंग सोधेर, अनि योजना बनाएर मात्र आउनुस्। नक्कली लाइसेन्स, नक्कली कागजात नल्याउनु।

अष्ट्रेलिया आउने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ?
छोराछोरीको झुटो विवाह गराएर, अष्ट्रेलिया आउन पाउने भन्दैमा चाँडो विवाह गरिदिएर नपठाउनुस्। यहाँ आइसकेपछि निकै गाह्रो हुन्छ। दलदलमा फस्छन्।