अष्ट्रेलियाको मेलबर्नमा हुँदैछ हिमालयन क्रिकेट मेला: द हन्ड्रेड

0
92

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा भव्य क्रिकेट मेला हुनेभएको छ। द हिमालयन क्लबको आयोजनामा हिमालयन क्रिकेट कार्निभल २०२१ : द हन्ड्रेड हुनेभएको हो। क्रिकेट कार्निभल अप्रिल २ तारिख, सोमबारदेखि आइतबार, ४ अप्रिलसम्म हुनेछ।

आठ टिमको सहभागिता रहने द हन्ड्रेड टुर्नामेन्टका विजेताहरुलाई अन्तिम अर्थात कार्निभलको समापन दिनमा पुरस्कार वितरण गरिने बताइएको छ। यसका साथै समापन दिनमा बालबालिकाको वुलवर्थ क्रिकेट ब्लास्ट सेसन, महिलाहरुका लागि ‘come and try ‘ सेसन र सिनियर टेप बल प्रतिस्पर्धा हुनेछ। समापन दिनमा वुलवर्थ क्रिकेट ब्लास्ट सेसनका ४० बालबालिका सहित दुई सय जनाको सहभागिता रहने अपेक्षा गरिएको आयोजक क्लबले जनाएको छ ।

क्रिकेट भिक्टोरिया, हार्मोनी इन क्रिकेट एसोसिएसन, भिक्टोरिया स्वास्थ्य विभागद्वारा सहयोग प्राप्त यस कार्निभलको प्रतियोगीमा विजेता टिमले २ हजार डलर नगद पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, रनर-अप टिमका लागि १ हजार डलर नगद पुरस्कार राखिएको छ। यो बाहेक टुर्नामेन्टका उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट विकेटकिपर, उत्कृष्ट ब्याटम्यान, म्यान अफ द म्याचलाई ट्रफी तथा प्रमाणपत्र मार्फत सम्मान गरिनेछ। त्यस्तै, वुलवर्थ क्रिकेट ब्लास्टमा सहभागी भएका बालबालिकालाई मेडल प्रदान गरिने आयोजक क्लबले जनाएको छ।

हिमालयन क्लबका पब्लिक अफिसर तारा गैरेले प्रतिस्पर्धाभन्दा पनि समुदायमा आपसी सद्भाव बढाउँदै सम्बन्ध विस्तार गर्न तथा एकता कायम गर्नको लागि मेलाको आयोजना गरिएको बताउनुभयो। पब्लिक अफिसर गैरेले भन्नुभयो, ” समुदायलाई खेल क्षेत्रमा अगाडी बढाउनु, खेलाडीका लागि अवसर सिर्जना गर्नु त हाम्रो उद्देश्य हो नै। तर अहिले प्रमुख उद्देश्य भनेको कोरोना महामारीका कारण हामीबीच बढेको सामाजिक दूरी, यसले निम्त्याएका निराशा, तनावलाई कम गर्दै आपसी सद्भाव, सम्बन्ध र खुसी बढाउनु हो”।

कार्निभलको उद्घाटन शुक्रबार बिहान ९ बजे T W Blake Park, 63 Gower Street Preston 3072 स्थित हिमालयन क्लबको ग्राउण्डमा हुनेछ। कार्निभलमा सम्पूर्ण खेलप्रेमी तथा नेपाली समुदायलाई सहभागी भई कार्निभल सफलतापूर्वक सम्पन्न गर्नको लागि सहयोग गर्न आयोजक संस्थाले सबैलाई आग्रह गरेको छ। कार्निभललाई कंडेल कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको छ।

आयोजक संस्था हिमालयन क्लब, क्रिकेट भिक्टोरिया अन्तर्गत रजिस्टर भएको पहिलो नेपाली क्रिकेट क्लब हो। २००९ मा साथी-साथी बीच क्रिकेट खेलबाट सुरु भएको यो संस्था २०११ मा आधिकारिक संस्थाको रुपमा स्थापित भएको थियो। यस क्लबसंग क्रिकेट भिक्टोरियासंगको सहकार्यमा नेपाली समुदायको खेल क्षेत्रलाई अगाडी बढाउन विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। क्लबका अध्यक्ष केशव सापकोटाले क्लबलाई यो स्थानसम्म ल्याईपुर्याउन सहयोग गर्ने सम्पूर्ण स्वयंसेवक, प्रायोजक, खेलाडी, सामाजिक अगुवा, संघ-संस्था, क्लबका सदस्य लगायत सम्पूर्ण शुभेच्छुकहरुप्रति आभार व्यक्त गर्नुभएको छ।