देश विकास नहुनुमा मुख्य जिम्मेवार को ?

0
71

जनक सापकोटा

विकास निरन्तर चलिरहने गतिशील प्रकिया हो ।जसलाई समाजको हरेक क्षेत्रमा हुने सकरात्मक परिवर्तनहरुको दस्तावेज मानिन्छ । यसको कुनै सिमा, बन्धन अर्थात् रोकिने बिन्दु हुँदैन भने मानिसहरुले विकासको उच्चतम सन्तुष्टिको प्राप्त गर्न सक्दैनन । ठुलाठुला सडक निर्माण गर्नु, अग्लाअग्ला भवन निर्माण गर्नु मात्र विकास होइन । मानिसको सोच, विचार, धारणा र सवेंगमा आउने सकरात्मक परिवर्तन जसले समाजको हरेक क्षेत्रमा सकरात्मक उपलब्धिको चाङ निर्माण गर्नमा सहयोग पुर्याउँदछ त्यसलाई विकासको परिधि भित्र समेटिएको हुन्छ ।

हरेक स्थानमा विकासको गति भिन्नभिन्न हुन्छ । कहिँ विकास तिव्र गतिमा हुन्छ भने कहिँ विकासको गति कम हुन्छ । कुनै पनि देशको विकासको गति त्यस देशको राज्यसत्ताको क्षमता जनताको आचरणमा भर पर्दछ । जुन देशमा जनता असल, अनुशासित, मर्यादित, कानुको सम्मान, राज्यप्रति उत्तरदायी हुन्छन त्यो देशमा विकास तिव्र गतिमा भइरहेको हुन्छ ।जहाँका जनता आफूबिच द्वन्द्व, असमझदारी, अशान्ति, कानुनको खिल्ली उडाउने आचरण बोकेका हुन्छन त्यस देशको विकासमा अवरोध धेरै हुने हुनाले विकास सन्तोषजनक हुन सक्दैन । जनताप्रति राज्य उत्तरदायी हुनु नहुनुलेमा पनि विकास प्रभाव पार्दछ ।यदि देशका अगुवाहरु चिन्तनशिल, विकासप्रेमि र राष्ट्रिय स्वार्थमा लिप्त छन भने सो देशको विकास उपलब्धिको बिन्दु गुणस्तर हुन्छ । जनता र सरकारबीचको सम्बन्धले पनि विकासमा प्रभाव पार्दछ ।

वास्तवमा नेपाल विकास नहुनुको मुख्य कारण हामी जनता नै हौ । हाम्रो देशमा सोचेअनुसार विकास किन भएन? अरुले जस्तो प्रगति हामिहरुले किन गर्न सकेनौ? हामिसगँ कुनै कुरा पो भएको हो कि? कि हामिसगँ सो अनुसारका जनशक्ति छैनन? के सत्ता सम्हालिरहेका मानिसहरुले नै हो त विकास नगरेको या हुन नदिएको? कि जनता राज्यप्रति उत्तरदायी बन्न सकेनौ? विकासको लागि जनताले विकल्प के दियौ?कतै जनताको प्रवृत्तिले अदृश्य विकास विरोधीको झझल्को झल्काइरहेको त छैन? अब हामी जनताले यस्ता धेरै प्रश्नहरुको आत्मसमिक्षा गर्ने बेला आएको छ ।

बाटो खन्दै गर्दा फलानो को घर नजिक लैजने, फलानोको जग्गाबाट बाटो नखन्ने अनि नानाथरी कुरामा झगडा गर्ने हामी नै हौ । विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा आएको पैसा गुपचुप गरि पचाउन खोज्ने पनि हामी नै हौ । सरकारि अस्पतालमा काम गरेर निजि अस्पतालमा औषधि खरिद गर्न पठाउने तर सरकारि अस्पताल सुधार गर्नमा चासो नदिनुे, कृषि क्षेत्रमा उत्पादन नै नगरि सरकारि अनुदान खाने, सानो कामलाई सम्मान गर्न नजान्ने आफुले पनि केही नगर्ने, घुस दिएरै भए पनि कानुन मिचेर आफ्नो स्वार्थ पूरा गर्ने, आफुलाई भनेजस्तो नभए सडकमा गएर आन्दोलन गर्ने सडक नै जाम गर्ने, विद्यालयमा, स्वास्थ्य चौकि, सरकारि भवनमा आगजनी र तोडफोड गर्न पछि नपर्ने हामी जनता नै हौ । अनि विकास कसले गरेन ! फलानो नेताले काम गरेन, देश लुट्यो, भ्रष्टाचार गर्यो, अरुको इशारामा चल्यो, दलाल, गुण्डा, देशद्रोहि यस्तै अनेकौ उपनामले गाली गर्छौ । तर चुनाव आउँदा उसैकोपछि दौडेर लाग्छौ अनि उसैलाई चुनाव जिताउन भए भरको बल प्रयोग गर्छौ । उ सत्तामा जान्छ हामीमाथि नै गद्दार गरिरहेको हुन्छ । हामी त्यो कुरालाई वास्ता नै गर्दैनौ ।

अझ उनैको स्वार्थ मिलेन भने हामीलाई उत्तेजित गराउँछन । हामी उनिहरुका भाइभाइमा झगडा गर्छौ, द्वन्द्व गर्छौ, सडक जाम गर्छौ, टायर बाल्छौ, सम्पदाहरुको तोडफोड गर्छौ तर यसको फलस्वरूप हामिलाई केवल धोका मात्र मिल्छ । उनिहरु स्वार्थ मिल्यो भने सहकार्य गर्छन हामी भाइभाइ पनि मिल्छौ । उनिहरुको इशारा हो मा हो जनाउँछौ । राज्यबाट आएको बजेटमा घोटला गर्ने, नातावाद कृपावादको हालिमुहालि बनाउने, सरकारि सम्पत्तिको सकेसम्म हिनामिना गर्ने, उद्योगधन्दा बन्द गराउन चलखेल गर्ने, स्वदेशी उत्पादनको प्रयोग नगर्ने, आफुले खान पाए नबोल्ने नत्र राम्रो काम गर्नेलाई पनि खुट्टा तान्न अग्रसर हुने प्रवृत्ति आम जनमानसमा बढ्दो छ । जबसम्म हामी आफू सुध्रिने कोसिस गर्दैनौ तबसम्म देशको समृद्धि हुने छैन । देश विकास हुन जनता पनि असल, अनुशासित, स्वाभिमानि,इमानदार र लगनशील हुन आवश्यक छ ।

हामी लोकतान्त्रिक मुलुकका नागरिक हौ । हामी लोकतान्त्रिक आचरण र संस्कारलाई आत्मसात गर्छौ । यदि लोकतन्त्रमा पनि जनताको लागि विकासको मुल फुट्न सक्दैन भने त्यस देशका नागरिक आफुप्रति अझै जिम्मेवार र विकासप्रेमि छैनन वा अझै लोकतान्त्रिक आचरण र अभ्यासमा पोख्त भएका छैनन भन्ने बुझिन्छ । सङ्कुचित सोच कै कारण हामी विकासको जगलाई फराकिलो बनाउन सकिरहेका छैनौं । जबसम्म सोच, विचार र धारणाको विकास हुँदैन तबसम्म भौतिक विकास पनि हुन सक्दैन । हामी आफुले आफुलाई नै शासन गरिरहेका छौ भने हाम्रो हामिले किन गर्न सकेनौ? किनकि हामी आफू बन्न खोजेनौ सधै अर्कोलाई मात्र बनाउन खोज्यौ । आफू बदलिन खोजेनौ, अर्कोलाई मात्र बदल्न खोजिरह्यौ अब पहिले आफू बदलिनुपर्छ ।

हामिसगँ दुई वटा आँखा छन । यी आखाँले सधै अर्को लाई नै हेरिरह्यौ । जसले गर्दा असल खराब सबै अर्कोमा मात्र देख्यौ तर आफुलाई हेर्न र बुझ्ने काम कहिल्यै गरेनौ । अब एउटा आखाँले आफुलाई हरेर आफैंलाई प्रश्न गरौ र आफैभित्र उत्तर खोज्ने प्रयास गरौं । आखिर देश किन बनेन? किनकि हाम्रो म आफै बन्न सकिरहेको छैन । जब म आफू बन्ने छु । बदलिने छु । तब देश पनि बन्ने छ र पक्कै बदलिने छ । हामी सुक्ष्म दृष्टिले आफुलाई नियाल्ने र कमजोरि तथा खराब प्रवृत्ति हटाई राज्यप्रति अलिक जिम्मेवारी भएर प्रत्येक नागरिक लागेमा देशमा विकासको गति बढ्न सक्छ ।