नेप्लीज तास्मानिया स्पोर्ट्स एसोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

0
174

होबर्ट। अष्ट्रेलियाको होबर्टमा नेप्लीज तास्मानिया स्पोर्ट्स एसोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। गत मार्च २० र २७ तारिखमा इच्छुक रक्तदाताहरुको सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

आफू बसोवास गर्दै आएको राज्यप्रतिको दायित्व बोध गर्दै दुई दिने रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ।

संस्थाका पब्लिक अफिसर विष्णु सापकोटाले साना-साना प्रयासहरुले नै उद्देश्य प्राप्त गर्न सकिन्छ र कसैको जीवन बचाउन सकिन्छ भन्ने सोंचका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। सापकोटाले कार्यक्रममा रक्तदान गर्नुहुने सम्पूर्णप्रति संस्थाको तर्फबाट आभार समेत व्यक्त गर्नुभयो।

नेप्लिज तास्मानिया स्पोर्ट्स एसोसिएसन (NTSA ) विशेषगरी तास्मानिया क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायको खेल क्षेत्रको समृद्धिको लागि गठन गरिएको संस्था हो। संस्थाका अध्यक्ष प्रोशेष पौडेलले यस क्षेत्रमा बसोवास गर्ने खेलप्रेमी नेपालीहरु तथा खेलाडीहरुका लागि नयाँ नयाँ अवसरहरु सिर्जना गर्दै नेपाली समुदायलाई खेल क्षेत्रमा अगाडी बढाउंदै जाने हेतुले संस्था स्थापना गरिएको जानकारी दिनुभयो।