अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई डर नदेखाऔं, सहज बसाईको लागि सहयोग गरौँ

0
158
  • विष्णु सापकोटा

पक्कै पनि नेपालमा जस्तो परिवेश विदेशमा हुँदैन। तर नकारात्मक कुरा गरेर सकारात्मक बाटो हिंड्न गाह्रो हुन्छ। त्यसैले अष्ट्रेलिया जो आउन खोज्दै हुनुहुन्छ, उहाँहरुलाई यहाँको बारेमा नराम्रो कुरा गरेर डर देखाउनु भन्दा यहाँ रहेका फरक संस्कृति, परिवेशसंग परिचित गराउन सक्यौं भने, त्यसले उहाँहरुको पछिको यात्रालाई सहज बनाउँछ। विशेषगरी, यस क्षेत्रमा काम गरिरहनुभएका सम्बन्धित पक्षले आफ्नो ठाउँबाट थोरै भएपनि सहयोग गर्न सकेको खण्डमा नयाँ विद्यार्थीहरुलाई सहयोग पुग्न सक्छ।

अष्ट्रेलियामा काम गर्ने वातावरण, सडक नियम,ट्रेन तथा ट्राम बसमा यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरु, काम खोज्नको लागि आवश्यक रिजुम बनाउँदा ध्यान दिनुपर्ने कुराहरु, कामको कुनै अनुभव नभएको खण्डमा कसरी प्रस्तुत हुने भन्ने कुराहरु बारे अगाडी नै अनुसान्धान गर्ने, बुझ्ने तथा योजना बनाउने हो भने विद्यार्थीले यहाँ आइसकेपछि सामना गर्नुपर्ने बाधाहरु कम हुन्छन्।

त्यसैगरी, अष्ट्रेलिया आइसकेपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि उपलब्ध सेवाहरुको बारेमा खोजी गरी ती सेवाहरुको उपयोग गर्न सकेमा सुरुवाती दिनहरु सहज बन्न सक्छन्। यसका साथै नेपालबाट अष्ट्रेलिया आउँदा कहाँ बस्ने, एयरपोर्टबाट बस्ने ठाउँसम्म पुग्नको लागि कति समय लाग्छ भन्ने जस्ता कुराहरुबारे जानकारी लिएर आएमा यहाँ आएर ठगिने र सास्ती खेप्नुपर्ने डर कम हुन्छ।

अष्ट्रेलिया आउँदा विद्यार्थी बिना जानकारी, राम्रोसंग नबुझी आयो भने यहाँ आइसकेपछि अरुको भर पर्नुपर्ने हुन्छ, विभिन्न किसिमका सास्ती व्यहोर्नुपर्ने हुन्छ। अर्कोतिर, राम्रोसंग बुझेर र योजना बनाएर आयो भने यहाँ अरु कसैको भर पर्नुपर्ने अवस्था आउंदैन। जसले गर्दा आफू आत्मनिर्भर बनिन्छ, अगाडीको बाटो सहज हुन्छ र अष्ट्रेलिया बसाई रमाइलो हुन्छ। यसरी सोंच्नुहोस् कि, सहयोग आवश्यक भएमा पनि यदि कोही आफन्त या चिनजानको व्यक्तिले सहयोग गरेन भने पनि गुनासो नगर्नुस्। त्यसलाई सिक्ने, बुझ्ने र आत्मनिर्भर बन्ने अवसरको रुपमा लिनुस्। अरुमाथि आशा राख्ने भन्दा आफ्नो तयारीमा समय दिनुहोस्।

( लेखक बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सी तास्मानियाका डाइरेक्टर हुनुहुन्छ। )